लकडाउनमा खाद्यान्न आपूर्ति कसरी गर्ने सरकार ?

Logo
चन्दा चौधरी मंगलबार, चैत्र ११, २०७६

चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर महामारी फैलाएको छ । झण्डै डेढ सयभन्दा अधिक देशमा यसले आफ्नो क्रुरतमरूपमा उपस्थिति मात्र जनाएको छैन हजारौं मानिसको ज्यान समेत लिएको छ ।

एशिया, युरोप, अमेरिका लगायत विश्वका हरेक कुनामा कोरोनाको कहर छ । स्वस्थ्य संकटबाट अहिले विश्व गुज्रिरहेको छ । अमेरिका, युरोपजस्ता समृद्ध राष्ट्रमा समेत कोरोनाले देखाएको आफ्नो प्रभावलाई हेर्ने हो भने के प्रस्ट हुन्छ भने कोरोनालाई सजिलै हराउन सकिँदैन ।

विश्व अहिले सचेत भएको छ । आफ्नो आर्थिक र सामरिक ठाँटलाई बिर्सन बाध्य बनाएको छ, कोरोना ले । विश्व अहिले एकजुट भएर कोरोनाविरुद्धको सतर्कता र लडाईंमा होमिएको छ जुन समयको आवश्यकता हो र माग पनि । विश्वमा हजारौं मानिस कोरोनाको भट्टीमा डढ्न विवश भएका छन् र लाखौं मानिसलाई कोरोनाले क्वारेनटाइन तथा अस्पताल पुर्‍याएको छ । यस्तो बेलामा नेपालमा कोरोना संक्रमण नभेटिनु सुखद् मात्र होइन बरू भगवान पशुपतिनाथ र माता जानकीले हामीलाई समयको लब्धता प्रदान गर्नुभएको हो, सचेत भएर बस्न र कोरोनालाई देशभित्र प्रवेश नदिन ।

नेपालमा बल्ल सरकारका तर्फबाट सचेतनास्वरूप केही दिन पहिला प्रधानमन्त्रीका तर्फबाट राष्ट्रका नाममा सम्बोधन गरियो । प्रमज्यूको प्रतिकूल स्वास्थ्य अवस्थाका बावजुद पनि उहाँले देशप्रति देखाउनुभएको जिम्मेवारीको जति सराहना गरे पनि कम हुन्छ । सरकारका प्रयासहरू जारी नै रहेका छन् तर जुनतहसम्म आमनागरिकले सरकारको प्रयासलाई सफल बनाउन कदममा कदम मिलाएर हिँडनु पर्ने हो त्यसमा कमी देखिएको छ ।

सरकारका प्रयासहरू जारी नै रहेका छन् तर जुनतहसम्म आमनागरिकले सरकारको प्रयासलाई सफल बनाउन कदममा कदम मिलाएर हिँडनुपर्ने हो त्यसमा कमी देखिएको छ ।

हामी नेपाली अज्ञान छौं भन्न खोजेको होइन, हामीले जानीजानी अर्धचेतन अवस्थामा जीवन बिताउने खराब बानीको चपेटामा आफूलाई पार्दै आएका छौं । हामी नेपाली खुशी हुनका लागि कुनै ठूलो उपलब्धि नै हासिल गर्नुपर्छ भने छैन । पाँच घण्टा लागातार बिजुली गएन र धारामा २४ घण्टा पानी आइहाल्यो भने हामीभित्र खुशीको सीमा हुँदैन । विश्वमा अहिले रुवावासी छ, हामी कोरोनाको चपेटामा नपरेको हुनाले आवश्यकता भन्दा खुशी हुनु मुर्खता हो । अहिलेको आवश्यकता भनेको सरकारको हरेक निर्णयलाई सहयोग पुर्‍याउनु हो ।

डरलाग्दो कोरोनाबाट बँच्न साबुनपानीले हात धुनु, मास्क लगाउनु, घरमै बस्नु, खोकी वा ज्वरो आएमा चिकित्सकसँग सम्पर्क गर्नु, भीडभाड नगर्नु, घरबाट अनावश्यक नबाहिरिनु । यी र यस्ता समान्य निर्देशन पनि हामी नेपालीले गम्भीरताका साथ पालना नगरेको अनुभूति गर्न सकिन्छ । सरकारका तर्फबाट पनि अझ बढी सजगता र सक्रियताको आवश्यकता छ ।

महामारीका बेला हाम्रो जस्तो गरीब देशमा आधारभूत कुराहरूको कृत्रिम अभाव स्वभाविकरूपमा देखिन थाल्छ । कालाबाजारी आफैँमा पनि एउटा महामारी हो र जसको चपेटामा देश र जनता पर्‍यो भने कोरोना जस्ता प्राणघातक बिमारीसँग आमजनता जोगिन सक्दैन । ‘सोसल डिस्ट्यान्सिङ’अतिआवश्यक हुन्छ कोरोनासँग बच्नका लागि । सरकारले ‘सेमी लकडाउन’को माहोल बनाएको छ देशमा, आवश्यकता पनि हो । तर मानिस घरमा बसी रहन तिनलाई चाहिने अतिआवश्यक खाद्यान सामग्री आमजनतालाई आपूर्ति गराउनुको अपरिहार्यता सरकारले महसूस गर्नुपर्छ । भारतको विभिन्न राज्यमा कोरोना संक्रमितको सांख्या बाहिर आइरहेको छ ।

नेपालको सीमासँग जोडिएको उत्तर प्रदेश र बिहारमा कोरोना संक्रमित रहेको आधिकारकि समाचार बाहिर आइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको सारा संयन्त्र, स्रोत र साधन कोरोनाबाट लड्नका लागि आह्वान गरिसक्नुभएको छ । भारतसँग हाम्रो खुला सीमा छ । नेपाल सरकारले नेपाल–भारत केही मुख्य नाकाबाहेक सबै नाका बन्द गरिदिएको छ जुन सरहानीय कदम हो ।

नेपाल–भारत सबै नाका ठप्प भयो भने उत्पन्न हुने अवस्थाको कल्पना समेत भयावह हुन्छ । सरकारले यतातिर ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

देशमा ʹलकडाउन’को गरिएको छ। ʹक्वरेन्टाइन र वैज्ञानिक आइसोलेसन’कक्ष कति छ हामीसँग, त्यो पर को कुरा भयो । हामीले आमजनतालाई आधारभूत खाद्यान सामग्री आपूर्ति गर्ने ल्याकत राख्छौं त ? हिजो मात्र मैले विभिन्न ग्यास डिलरमा फोन गर्दा ग्यासको अभाव छ भन्ने जवाफ पाएँ । म जस्ता हजारौं जनता अहिले ग्यास नपाएर त्राहिमामको अवस्थाबाट गुज्रिरहेका छन् । नेपाल–भारत सबै नाका ठप्प भयो भने उत्पन्न हुने अवस्थाको कल्पना समेत भयावह हुन्छ । सरकारले यतातिर ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।

हामी आर्थिक रूपमा निकै पछाडि छौं । यहाँ नित्यदिन काम गरेर ज्यालादारीको भरमा घर चलाउनुपर्ने जनताको संख्या अधिक छ । ʹलकडाउन’को अवस्थामा त्यस्ता जनताको जीवन कसरी अगाडि बढ्ला त ? सरकारको के योजना छ त्यस्ता जनताका लागि ? यी कुराहरू पनि आमजनतामाझ ल्याएर सरकारले ज्यालादारीमा जीवन चलाउन बाध्य जनताको आत्मबल उकास्नुपर्छ । विपतका बेला जनताको दुःखमा मल्हम लगाउन सरकार पछि हट्ने छैन भन्ने भावनाको विकास गराउनुपर्छ, अनिमात्र संविधानमा समाजवादउन्मुख लेख्नुको औचित्य पुष्टि हुन्छ ।

कोरोनाले अहिले विश्व अर्थतन्त्रको प्रतिस्पर्धामा रहेको संसारलाई तहसनहस पारिदिएको छ । नेपाल जस्तो गरीब र कमजोर अर्थतन्त्र भएको देशलाई यसले कलान्तरमा आर्थिकरूपले लाटो बनाउने नै छ । केहीसमय यता विश्वभरिका ठूला शेयर बजारमा गिरावट आइसकेको छ । विश्व अर्थतन्त्रको प्रक्षेपण र विश्लेषण गर्ने एक संस्था अक्सफोर्ड इकोनोमिक्सले कोरोना अर्थात कोभिड–१९ ले सन् २०२० को विश्वको आर्थिक वृद्धिमा कमसेकम ०.५ प्रतिशत असर पार्ने अनुमान गरेको छ ।

तर सतहीरूपमा हेर्दा जसरी यो कोरोनाले विश्वमा भयावह स्थिति उत्पन्न गरेको छ त्यसले के लाग्छ भने अक्सफोर्डको अनुमानलाई गलत साबित गर्दै ग्राफ उकालो पनि लाग्नसक्छ । अर्थतन्त्रको यस्तो डरलाग्दो अनुमानका बेला नेपालले ‘प्लान एʹकोरोनासँग लड्दै गर्दा कोरोना नियन्त्रणपश्चात (आशा गारौं सक्दो छिटो नियन्त्रणमा आओस्) ʹप्लान बी’ पनि सँगसँगै अगाडि बढाउनुपर्छ । र ʹप्लान बी’अन्तर्गत देशको अर्थतन्त्रलाई लिकमा फर्काउनका निमित्त गृहकार्य अहिलेदेखिनै थाल्नुपर्छ । गृहकार्य भएको खण्डमा त्यसको कार्यान्वयन मात्र गर्नुपर्ने हुन्छ ।

अन्त्यमा, कोरोनासँगको लडाईंमा हामी जनता सचेत हुनुको विकल्प छैन । राज्यको सम्पूर्ण ऊर्जा यो लडाईंमा एकढिक्का भएर लगाउनुपर्छ । कालोबाजारी नहोस् । शरीरभित्र प्रतिरक्षा शक्ति कमजोर भएका ज्येष्ठ नागरिकका लागि तिनै तहका सरकारले अहिलेदेखि नै ‘क्वरेन्टाइन र आइसोलेटेड रूमʹको जोहो गरिहाल्नुपर्छ । साक्षरतादर कम रहेको हामी नेपाली जनतामा अहिले पनि कोरोनासँग जोगिन अपनाउनुपर्ने उपायको यथेष्ट जानकारीको कमी रहेको छ । भीडभाडरहित तरिकाले जनचेतनामूलक कार्यक्रम तीव्र हुनुपर्छ । भगवानले विश्वलाई कोरोनाको प्रकोपबाट जोगाओस् भने कामना गर्दछु ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry