उदयपुर । उदयपुरमा क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, लिम्चुङबुङ र रौतामाई गाउँपालिकाको क्वारेन्टाइनमा बस्नेको संख्या ३३ पुगेको हो।
त्रियुगा नगरपालिकाद्वारा निर्मित त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा ३ जना, नेपाली सेनाको शार्दुल गण बोलस्रोत व्यारेकमा २६ जना र लिम्चुङबुङ गाउँपालिकाको शिरवानी माध्यमिक विद्यालय बाराहामा ३ जना र रौतामाई गाउँपालिका मुर्कुचीको स्वास्थ्यचौकीमा रहेको क्वारेन्टाइनमा एक जना गरी ३३ जना पुगेका छन ।
कटारी अस्पतालको आइसोलेशन वार्डमा रहेका ताप्ली गाँउपालिका ४ ठानागाउँ घर भएका ३८ वर्षीय कीर्तिमान मंग्राती शनिबार विहान झोला र मोबाइल छाडेर फरार भएका छन् ।
जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीका अनुसार मोतिगडामा बस्ने तीनजना मध्ये दुईजना मजदुरी गर्न गई नवलपारासीबाट फर्केका कामदार हुन् । उदयपुरको रौतामाई गाउँपालिकाका उनीहरु सोमबार विहान बसबाट गाईघाट आएका थिए । दुईवटा बसमा आएका ८१ जना मध्ये दुईजनालाई सामान्य ज्वरो देखिए पछि चिकित्सकको सल्लाहमा क्वारेन्टाइनमा राखिएको हो ।
अन्यको अवस्था सामान्य देखिए पछि घरमै क्वारेन्टाइनमा बस्ने गरि पठाइएको छ । अर्का एकजना भने दार्जिलिङबाट आएका मानिस हुन् ।