उदयपुर । पछिल्लो समय भारतमा तिव्र गतिमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा कोरोना संक्रमण बढ्ने सम्भावना देखिएको छ।
भारतबाट आएका दुईजनामा पनि संक्रमण देखिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–९ का ४१ वर्षका पुरुष र कैलालीको लम्कीचुहा नगरपालिका २१ वर्षका युवामा कोरोना संक्रमण भेटिएको हो।
धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु मध्ये उदयपुरको पाँच जना पनि सहभागी भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरका अनुसार भारतको दिल्लीबाट फर्किनेमा त्रियुगा नगरपालिका भित्रका चार जना र एक जना कटारी नगरपालिका छन्।
त्रियुगा नगरपालिकाको चार जना अहिले त्रियुगा जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ भने कटारी नगरपालिकाबाट गएको व्यक्तिको पहिचान हुन नसकेको एसपी मगरले जानकारी दिए ।
चैत ८ गते भएको धार्मिकसभामा सहभागी मध्ये २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अरु दुई सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
त्यसदिनको धार्मिकसभामा भारतीयसँगै दुई सयभन्दा बढी विदेशी नागरिक पनि थिए । त्यसमा १९ जना नेपाली मध्ये पाँच जना उदयपुरको रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।