खोटाङ- उदयपुरको कटारी अस्पतालको आइसोलेसनबाट ९ दिनअघि भागेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका ३९ वर्षीय किर्तीमान नेपाली सहित उनका आफन्तलाई हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित स्वास्थ्यौकीको क्वारेन्टाइनमा राखिएको छ ।
किर्तीमानको सम्पर्कमा रहेका कारण दुई परिवारका आठ जना समेतलाई आइतबारदेखि क्वारेन्टीनमा राख्नु परेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।
भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा कटारी आइसोलेसनमा राखिएको अवस्थामा चैत १४ गते भागेका नेपाली हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको हैदेमा आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परेका हुन् ।
मेयर राईका अनुसार छोरीको घरमा आएर बसिरहेको जानकारीका आधारमा नेपाली र उनका आफन्तलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा ल्याइएको हो । उनका कारण थप आठ जनाले समेत क्वारेन्टीनमा बस्नुपर्ने अवस्था आएको हो ।
गत चैत १२ गते कटारी आइपुगेका नेपाली मोवाईल, लुगाफाटा, झोला अस्पतालमै छाडेर तीन दिन नबित्दै आइसोलेसनबाट भागेका थिए । २१ जनाको समुहमा कटारी आइपुगेका उनलाई ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको थियो ।