काठमाडौं । कोरोना भाइरसको महामारीमा विश्वभर माग उच्च भइरहेको हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यातको अनुमति दिने निर्णय गरेको छ ।
भारतले नेपालसहित १३ देशलाई हाइड्रोक्सीक्लोरोक्विन (एचसीक्यू) र सिटामोल औषधि निर्यात गर्ने भएको भारतीय विदेश मन्त्रालयका एक अधिकारी दम्मु रविले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार भारतले नेपाल, भुटान, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, अमेरिका, स्पेन, जर्मनी, ब्राजिल, बहराइनलगायतका देशलाई यी औषधि निर्यातको अनुमति दिइएको छ ।
भारत हाइड्रोक्सीक्लोरोक्विन औषधि धेरै उत्पादन तथा निर्यात गर्ने देश हो । मलेरियाका लागि उपयुक्त हुने भनिने हाइड्रोक्सीक्लोरोक्विन औषधि उपलब्ध गराइदिन यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका थिए ।
यता नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबारै औषधिलगायतका अत्यावश्यक सामान आयात–निर्यातका विषयमा टेलिफोन वार्ता भएको थियो ।