दोहा – मध्यपूर्व तथा खाडी देशमा खटिएका नेपाली राजदूतहरुले आफ्नो एक महिना बापतको तलब नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा दिने भएका छन् ।
चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर नै अहिले आक्रान्त रहेको भन्दै देश र देशवासीको सहयोग पुगोस् भनेर एक महिनाको तलब दिने निर्यण गरेको कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले जानकारी दिएका छन् ।
सरकारद्वारा स्थापित कोषमा कतारका राजदूत नारदनाथ भारद्वाज, यूएइका राजदुत कृष्ण प्रसाद ढकाल, ओमानका शर्मिला पराजुली ढकाल, साउदी अरबका महेन्द्र प्रसाद सिंह, बहराईनका पदम सुन्दास र कुवेतका दुर्गाप्रसाद भण्डारी सहित खाडीका बिभिन्न मुलुकहरुका राजदुतहरुले १ महिनाको तलब नेपाल सरकारद्वारा स्थापित कोरोना भाईरस सहयोग कोषमा दिने निर्णय गरेका हुन् ।
नेपालमा सात दिन यता कोरोना भाइरस (काेभिड १९) सङ्क्रमित नयाँ बिरामी नभेटिएको जनाएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये आठ जनाकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।