मलाई अध्यक्ष र प्रधानमन्त्रीबाट हट्न भनिएको छ, मैले प्रचण्डलाई हट्न भन्यो भने के हुन्छ?: ओली

‘मेरो राजनीतिक जीवन नै सिध्याउने गरी आरोप पत्र ल्याइयो’
Logo
गोरखापत्र बिहिबार, मंसिर ०४, २०७७

प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट हट्न भनिएको बताएका छन्।

आफूलाई दुबै पदबाट हट्न पार्टीभित्रबाटै माग आएकोबारे खुलाउँदै ओलीले त्यसैगरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि हट्न भन्यो भने के हुन्छ भन्ने प्रश्नसमेत गरेका छन्।

उनले यो कुरा बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा खुलाएका थिए।

‘मलाई अध्यक्ष र प्रधानमन्त्री दुबैबाट हटाउने तयारी पनि गरिएको छ। हट्न भनिएको पनि छ। त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ? विधि पद्धतीका कुरा के हुन्छन्? संगठनात्मक सिद्धान्तका कुरा के हुन्छन्? त्यसमा एकपटक विचार गर्ने हो कि! किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्न सक्छ,’ अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले त्यो अभियोग पत्र भएको उल्लेख गरेका छन्।

प्रचण्डले पेश गरेको १९ पेजको प्रस्तावमा अध्यक्ष ओलीको आलोचना गरिएको छ।

त्यस्ता आरोप लाग्दालाग्दै कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीका रूपमा जिम्मेवारीमा बस्न नमिल्ने पनि प्रधानमन्त्री ओलीको भनाइ छ। त्यसैले ती आरोपमाथि मसिनो गरी छलफल गर्नुपर्ने ओलीले बताएका छन्।

‘यी आरोप या त त्यसबाट बदर हुनुपर्‍यो तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ। त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पद र ती जिम्मेवारीबाट हट्नुपर्‍यो,’ अध्यक्ष ओलीले भनेका छन्, ‘यो हटाउने माग त पहिलेदेखि नै आएको थियो। यसपटक हट्ने आधार यी हुन् यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ।’

अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावभित्र सोझै प्रधानमन्त्री र अध्यक्षबाट हट् भन्ने भाषा नभए पनि त्याग गर्नुपर्छ भन्ने उल्लेख रहेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

‘पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट्, अध्यक्षबाट हट् भन्ने भाषा छैन। त्याग गर्नुपर्छ भन्ने कोटेट भाषा रहेको छ। त्याग भन्ने शब्द त्यहाँ राखिएको छ,’ उनले सचिवालय बैठकमा भने।

आफूमाथि लगाइएका आरोपबारे पहिले छिनोफानो हुनुपर्ने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बताएका छन्। आरोप सही ठहरिए जिम्मेवारीबाट हट्नुपर्ने र नभए आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्ने उनले बताए।

‘यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ। यो आरोप या त सदर ठहरिनुपर्‍यो अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍यो। यसको जवाफदेही लिनुपर्‍यो,’ प्रधानमन्त्री ओलीले भने, ‘यदि यो सही छ भने एउटा हट्नुपर्छ। सही छैन भने अर्को हट्नुपर्छ। अब यसबारे छिनोफानो गर्न मात्रै बैठक हुन सक्छ।’

अध्यक्ष प्रचण्डले राखेको लिखित प्रस्तावबारे आफूले पार्टीका नेताहरूसँग पनि कुराकानी गरेको अध्यक्ष ओलीको भनाइ थियो।
आरोप छिनोफानो नगरी कोही मानिस जिम्मेवारीमा बस्न नमिल्ने उनको भनाइ थियो।

‘मैले अस्ती दुई कमरेडलाई बोलाएर कुरा गरेँ। वामदेवजीसँग कुराकानी गरेँ। यसको छिनोफानो नभइकन यी आरोपसहित यी आरोप बोकी बोकीकन कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन,’ अध्यक्ष ओलीले भने।

अध्यक्ष प्रचण्डले आफूलाई अभियोग पत्र दिएकोले यसअघिका सहमति तथा समझदारी त्यसैले अन्त्यको घोषणा गरेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ छ।

‘अस्तीको प्रस्तावनामक अभियोग पत्र आइसकेपछि यसअघिका हाम्रा सहमति समझदारीको त त्यसैले अन्त्यको घोषणा गर्‍यो। त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन। अब पुराना सहमति कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो,’ अध्यक्ष ओलीले भने।

उनले मिलेर मात्रै पार्टी बचाउन सकने बताएका थिए। ‘लडेर पार्टी बच्दैन। जालझेल र तिक्डम गरेर पार्टी बच्दैन,’ अध्यक्ष ओलीले भने, ‘त्यो लाञ्छना पत्र जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोप अभियोग लाञ्छना तिरस्कार अपमान सबै खारेज गर्छु।’

आफ्नो राजनीतिक जीवन नै सिध्याउने गरी आरोप लगाइएको पनि अध्यक्ष ओलीको भनाइ छ।

‘यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोप पत्रलाई म पूर्ण रूपमा अस्वीकार गर्छु। त्यसको म यथोचित जवाफ लिखित रूपमा नै प्रस्तुत गर्नेछु,’ उनले भने।

अध्यक्ष प्रचण्डले पेश गरेको प्रस्तावले गम्भीर मोडमा पुर्‍याएको भनेर नेता माधव नेपालसँग कुराकानी गरे पनि सहयोग नमिलेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ थियो।

‘मैले त्यो पत्रले परिस्थिति गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ। उहाँले अँ धम्क्याउने? धम्क्याएर कोही डराउँदैन भन्नुभयो। डराउने खालको त कोही छ जस्तो लाग्दैन,’ उनले भने।

अर्का अध्यक्ष प्रचण्डले दिएको पत्र मसिनो गरी हेरेर त्यसको जवाफ दिने पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको भनाइ छ।

‘अँ त्यस्ता झुठा र निकृष्ट लाञ्छना मैले सहन्छु भन्ने कुरा नसोचे पनि हुन्छ। तसर्थ आज बैठक अगाडि बढ्न सक्ने देख्दिनँ। मेरो जवाफ पत्र पनि तयार भइसकेको छैन,’ अध्यक्षसमेत रहेका प्रधानमन्त्रीले ओलीले सचिवालय बैठकमा बोलेका कुरा उल्लेख गर्दै आज गोरखापत्रले पूर्णपाठ छापेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो टिम

अध्यक्ष/प्रकाशक: खेमराज दाहाल

बरिष्ठ सम्पादक : पर्शुराम थापा

सम्पादक: शुसिला रेग्मी

सम्पर्क

सम्पर्क : ९८४०१६५५३५/९८५२८६५५३५
ठेगाना :-उदयपुर गाईघाट
सुचना बिभाग दर्ता नम्बर – २१५८/ ०७७-७८
इमेल:[email protected], [email protected]

हाम्रो बारे

solutonkhabar.com  अनलाइन खोज मुलक समाचारको डिजिटल समाचार माध्यम हो । मोफसलमा क्रियाशिल संचारकर्मीहरु द्वारा संचालित solutonkhabar.com र सोलुसन अनलाइन टेलीभिजनमा समसामयीक र नागरिकका असंतुष्टिहरु केलाउदै समाधान को प्रयास खोज्ने गरिन्छ ।

error: Sorry