उदयपुर । सांसद बिघटन पछि देखिएको नेकपा भित्रको शक्ति संघर्षमा पूर्व एमाले घटकमा ओली समूह बलियो बन्दै गएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरुले पार्टीको क्षति न्यूनिकरण गर्न विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर आफ्नो समुहमा पार्ने कोसिसमा लागि रहेका छन्।
पूर्व एमालेका ओली निकट जिल्लाका नेताहरु समेत पार्टीलाई बढी क्षति हुन नदिन र पूर्व एमालेहरु मिलेर जानुको विकल्प नभएको निष्कर्ष निकाल्दै छलफलमा जुटेका छन्। शनिबार माधब नेपाल निकट योगेश भट्टराईका बिस्वासपात्र उदयपुरका प्रभावशाली युवा नेता प्रमेश घिमिरे ओली समुहमा प्रवेश गरेका छन्।
उदयपुरका युवा जगतमा राम्रो प्रभाव राख्ने नेता घिमिरे ओली समुहमा प्रवेश गरे पछि जिल्लाको राजनीतिमा धेरै फेरबदल आउन सक्ने आकलन गरिएको छ। पूर्व एमालेमा उदयपुरमा नेपाल समुहको बर्षच्व प्रभाव बढी देखिने गरिन्थ्यो। तर अहिले युवा नेता घिमिरे ओली समुहमा प्रवेश गरे पछि नेपाल समूह एकाएक कमजोर भएको मानिन थालिएको छ।
केन्द्रको राजनीतिमा हेर्ने हो भने पनि पूर्व एमाले घटकमा नेपाललाई छाडेर ओली समुहमा आउनेको संख्या बढी देखिन्छ भने ओली समुहलाई छाडेर नेपाल समुहमा जानेको संख्या सुन्य छ। त्यति मात्र नभएर ओली समुहले पूर्व माओबादीका बरिष्ठ नेताहरु समेत आफ्नो पक्षमा पारेका छन्।