काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदमप्रति घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । तमु ल्होसार र उद्यौली पर्वका अवसरमा जारी शुभकामना सन्देशमार्फत् उपराष्ट्रपति पुनले प्रधानमन्त्री र राष्ट्रपतिको पछिल्लो कदमबाट संविधान उल्लंघन भएको संकेत गर्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
‘देशमा विकसित पछिल्ला दुःखद प्रकारको राजनीतिक तथा संवैधानिक घटनाक्रमले जनतामा नैराश्यता छाएको छ ।’ उपराष्ट्रपति पुनले भन्नुभएको छ, ‘जनतामा नैराश्यता आउनु देशका लागि दुःखद कुरा हो ।’ गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको रक्षाका लागि संविधानको पूर्ण पालन र संरक्षण अनिवार्य रहेको उहाँको भनाइ छ ।
‘संविधानको मर्म र भावनाको सम्मान गर्दै त्यसको पूर्ण पालन, संरक्षण, राजनीतिक स्थायित्व र देश विकासका लागि जनतामा नयाँ आशा जगाउन सबै पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्दछ ।’ उहाँले भन्नुभएको छ, उपलब्धीको रक्षार्थ जनताले पनि सचेततापूर्वक आफ्नो दायित्व पुरा गर्नुपर्दछ ।’