उदयपुर – नेपाली कांग्रेस उदयपुरले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा उदयपुरमा विरोध प्रदर्शन गरेको छ।
नेपाली कांग्रेसको देशभरको प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध विरोध गर्ने कार्यक्रम अन्तर्गत आज उदयपुरका प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो।
नेपाली कांग्रेसले उदयपुरले प्रदेश सभा निर्वाचन क्षेत्र अन्तर्गत उदयपुरको रामपुरमा क्षेत्रिय सहसभापति बसन्त बस्नेतको नेतृत्वमा विरोध प्रदर्शन गरेको हो।
बिरोध र्याली पछिको कोण सभामा बोल्दै बस्नेतले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर आफ्नो निरंकुश चरित्र उजागर गरेको आरोप लगाएका थिए।
प्रधानमन्त्री ओलीको यो असंवैधानिक कदम मुलुकका लागि घातक साबित हुने भन्दै यसलाई सम्मानीय अदालतले सच्याउनेमा आफुहरु बिश्वस्त रहेको बताए। उनले थप्दै भने अहिले ओलीले गरेको यो कदम असंवैधानिक छ, यसलाई कांग्रेसले असफल तुल्याइ दिन्छ।
नेपाली कांग्रेसले माघ ३ गते देशभरकै ७५३ वटै स्थानीय तह र माघ ८ गते देशभरका ६ हजार ७४३ वटै वडामा विरोध प्रदर्शन गर्ने कार्यक्रम राखेको छ।