प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासी संसद विघटन गरेपछि नेताहरु फुर्सदिला बनेका छन्। । फुर्सदिला नेताहरुले शहरका सडकहरुमा र्याली गरेर यातायातलाई अबरुद्ध गर्ने देखि बिच सडकमा सभा गरेर दिनैभर यातायातलाई ठप्प पारेका छन । दिन दिनै हुने राजनितीक सभा र नेताहरुको देश दौडाहाले उनिहरु ब्याक्तीगत रुपमा ब्यास्त देखिए पनि उनिहरुको ब्यास्तताले देश र जनताले पाउने भनेको मात्र सास्ती हो।
सरकारले गरेको असंबैधानिक कदम बिरुद्ध प्रमुख प्रतिपक्ष दलका हिसाबमा कांग्रेस लगाएतका दलले बिरोध गर्नु स्वाभाविक भए पनि सत्ता पक्षका नेताहरू नै यस्ता भेलामा खप्पिस देखिएका छन ।
सरकारले गरेको असंवैधानिक कदमले राजनीतिक रुपमा सबैभन्दा बढी फाइदा अहिले नेपाली कांग्रेसलाई नै फाइदा छ तर संबैधानिक सर्बोच्चता, संबिधानबादलाई आफ्नो राजनीतिक बिचारधारा बोकेको कांग्रेस भने सत्ताले गरेको असंवैधानिक कदमको शसक्त बिरोध गर्न सकि रहेको छैन । सरकारले गरेको असंबैधानिक कदम विरुद्ध सत्तारुढ दलनै शसक्त रुपमा शक्तिप्रदर्शनमा उत्रिएको छ तर प्रतिपक्षका रुपमा कांग्रेस भने निर्धो देखिएको छ ।
सरकारले गरेको असंवैधानिक कदमलाई शसक्तरूपमा बिरोध गरेर जनताको जनमतलाई फर्काउन कांग्रेसले नेतृत्व गर्नु पर्ने बेलामा आफ्नो लोकतान्त्रिक चरीत्रलाई समेत बेवास्ता गरि सत्ताको झिनो आसामा कांग्रेस अल्झिएको छ । सरकारको तीन बर्षे कार्यकालमा जनताले जति सरकारको आलोचना गरे तेतिनै प्रमुख प्रतिपक्षीदल कांग्रेसलाई पनि आलोचना गरे । सरकारका हरेक स्वच्छाचारी कदममा कांग्रेसले कहिँ मौन समर्थन जनायो भने काहीँ आफैं संलग्न भएर त्यस्को भागिदार बन्यो ।
पार्टी भनेको समग्रमा सबै नेता कार्यकर्ताको सामुहिक रुप हो । तर त्यस्को निर्णायक भुमिका भने नेतृत्व तहमा रहेका ब्यक्तिको हुन्छ । त्यसैले पार्टीलाई सहज संचालन र क्रियाशिल बनाउन विभिन्न पद र संरचना बनाइएको हुन्छ । ती संरचनालाई बिधिवत संचालनका लागि निति, बिधान र शिद्धान्त बनाइएको हुन्छ ।
एउटा जिवन्त पार्टी संचालनको लागि समुह, नीति, बिधान, सिद्धान्त र नेतृत्व सबै एक अर्कामा परिपुरक हुन्छन । नेतृत्वले सिद्धान्त, नीति र बिधान बमोजिम कार्यक्रम ल्याउछ भने त्यस्लाइ कार्यन्वयनमा सम्पुर्ण पार्टी पङ्ती एक भएर लाग्नु पर्छ । तव मात्र एउटा राजनीतिक दल जनताको पार्टी बन्न सक्छ र जनताका आबश्यकता बोक्न र बोल्न सक्छ ।
आफ्नो चरीत्र समेत भुलेर नेपाली कांग्रेस अहिले जनताको पार्टी भन्दा सिमित नेता र सिमित समुहको पार्टी बनेको छ । पार्टीमा कार्यकर्ताले नेता चयन गर्नु पर्नेमा नेताले कर्याकर्ता चयन गर्दै आफ्नालाई भित्र्याउने चलन बढ्दो छ ।
नेतालाई मालिकका रूपमा प्रतिस्थापित गरेर कार्यकर्ता स्वयं दास मानसिकताबाट सञ्चालित छन्। नेतृत्व पंक्तिको मालिक मनोवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन। यसो हुनुको प्रमुख कारण के हो भने जो नेता आफू यसबेला सामन्तवादी मालिकपनको संस्कारबाट स्थापित छ, ऊ कुनै बेला विगतमा आफ्ना अग्रणी नेताकै आरती उतारेर नवनेता हुन पुगेको देखिन्छ।
पार्टीमा सही र स्वच्छ छवि भएका संघर्षशील, इमानदार कार्यकर्ताको मूल्यांकन हुन सकेको छैन। नेताका स्वकीय सचिवहरूले सिफारिस गरेका व्यक्तिहरू नै कांग्रेसी भएर हालीमुहाली गर्ने प्रवृत्तिको दबदबा छ। यिनकै मात्र मूल्यांकन र सम्मान हुने परिपाटीले जरा गाडेको छ। नेताका घरदैलोमा पुगेर शुभकामना दिने, नेताकै अघिल्तिर बसेर प्रशंसा गर्ने र नेताकै चाकडी–चाप्लुसी गरेर आफ्नो दुनो सोझ्याउने प्रवृत्ति चरमचुलीमा पुगेको देखिन्छ।
विश्वमा स्वतन्त्र सार्वभौम राष्ट्रका रूपमा रहेको नेपाल र नेपालीको पहिचान स्थापना गर्ने दिशामा अग्रणी भूमिका खेलेको यो पार्टी यसबेला आन्तरिक द्वन्द्व, कलह, गुट–उपगुट, अन्योल र आपसी स्वार्थबाट झन्डै क्षतविक्षत् हुन पुगेको छ। यसका विसंगति पक्ष केलाएर हेर्ने हो भने प्रमुख रूपमा यसबेला पार्टी नीति, सिद्धान्त, विधि र प्रणालीबाट चलेको छैन।
नेपाली कांग्रेसले देश र जनताका लागि आजसम्म गरेका उपलब्धिका बारेमा जनस्तरसम्म सहज, सर्वसुलभ माध्यमबाट प्रत्याभूत गराउन यथाशीघ्र पहल गर्न आवश्यक छ। कोठामा बसेर प्रेस विज्ञप्ति र भाषणबाट मात्र यस्ता कार्य पुष्टि हुँदैनन्। संगठनलाई सबल तुल्याउन बुथ, एकाइ, गाउँ, वडा, नगर र जिल्लासम्म पुगेर संगठनात्मक संरचना निर्माण र परिचालन गर्नुपर्ने देखिन्छ। यसैगरी नेपाली कांग्रेसको भ्रातृ, शुभेच्छुक र जनवर्गीय संगठनलाई सम्मान, सुरक्षा र पहिचानको अनुभूति प्रत्याभूत गराएर ती सबैलाई कार्यकुशलताका आधारमा यथोचित प्रतिनिधित्व गर्नुपर्ने ग्यारेन्टी पनि आवश्यक छ।
उदयपुरलाई राजनीतिक कार्यथलो बनाएर केन्द्रीय राजनीतिमा उदयपुर कांग्रेसले आफ्नो बलियो स्थान बनाएका दुई ब्याक्ती पाएको छ । त्यति मात्र हैन २ सय ७५ जना प्रतिनिधि सभा सदस्य रहेको प्रतिनिधि सभामा जम्मा कांग्रेसबाट ६३ जना संसद हुँदै गर्दा पनि उदयपुर कांग्रेसले ३ जना संसद पाएको छ । मुलुकका अनेकौं जिल्ला प्रतिनिधि बिहिन बन्दै गर्दा उदयपुर कांग्रेसले ३ जना प्रतिनिधि सभामा प्रतिनिधि पाउनु र दुई जना केन्द्रीय सदस्य पाउनु उदयपुरे कांग्रेसको लागि गर्व गर्न लायक कुरा हो ।
त्यो उपलब्धि आज प्रतिनिधि बनेर पुगेका र ती केन्द्रीय सदस्यले मात्र बनाएको हैन । यो उपलब्धिको हकदार हरेक उदयपुरे कांग्रेसी हुन जति संसद र केन्द्रीय सदस्य । पटक-पटक जनताको प्रतिनिधित्व गर्दै संबिधान सभा देखि प्रतिनिधि सभा सम्मको यात्रा तय गरेका उदयपुरे नेताहरुले उदयपुर कांग्रेसले गर्व गर्न लाएक के के काम गरे भन्ने मुल प्रश्नको उत्तर खोजिनु पर्ने बेला भएको छ ।
प्रतिनिधि सभाको निर्वाचन पश्चात प्रमुख प्रतिपक्षी दलको हैसियतमा उदयपुरका तीन जना संसदले संसदमा आफ्नो पाइला राखे । प्रतिपक्षी भएर गएका तीन जना उदयपुरका संसदले कति पटक संसदको रोष्टममा उभिएर उदयपुरे आम नागरिकका कथा ब्याथा सुनाए र प्रमुख प्रतिपक्षीदलको नेताको रुपमा सरकारले गरेका स्वच्छाचारी कदमको बिरोध गरे । यी सुनिदा र हेरिदा सामान्य लागे पनि कांग्रेसबाट राजनिती गर्दै आएका हरेक कार्यकर्तालाई यस्ले महत्वपूर्ण अर्थ राख्दछ ।
तर बिडम्बना भन्नू पर्दछ ती केन्द्रीय सदस्य तथा प्रतिनिधिले प्रतिनिधि सभाको तीन बर्षे अवधिमा जम्मा तीन पटक पनि रोष्टममा उभिएर जनताको आवाज सरकारलाई सुनाएनन र सरकारको स्वच्छाचारी गतिविधिको बारेमा औंला उठाएनन । यति मात्र हैन संबिधानसभाको सदस्य समेत रहेका डा. नारायण खड्काले आफ्नो दायित्व समेत भुले । आफू समेत जनताको प्रतिनिधि भएर गएर जनताको संबिधान बनाएका खड्काले अहिले सरकारले गरेको संसद विघटन बिरुद्ध जिल्लामा भएका कुनै पनि बिरोध सभा तथा र्यालीहरुमा सहभागी भएर कार्यकर्ताको मनोबल बढाउन उपस्थित समेत भएनन ।
कांग्रेस केन्द्रीय समिति बैठकमा आफै उपस्थित भएर केपी ओलि सरकारले गरेको संसद विघटन असंवैधानिक भएको निर्णय गरे तर आफू विभिन्न संचार माध्यम हरुमा गएर अब निर्वाचनमा जानू पर्ने अभिव्यक्ति दिदै हिडे जस्ले उदयपुरे कांग्रेसी कार्यकर्तामा अन्योलता सिर्जना भयो र सरकारको असंवैधानिक कदम विरुद्ध भएका बिरोध सभा शसक्त हुन सकेनन । त्यति मात्र हैन केन्द्रीय समितीले निर्णय गरेका कतिपय बिरोध सभाहरु सप्पन्न समेत भएनन् ।
यसरी निर्धारित कार्यक्रमहरु नहुनु भनेको नेपाली कांग्रेसको आजको स्थिति के हो र कहाँ छ भन्ने केन्द्रमा बसेर यहाँको राजनीति गर्ने नेताहरुलाई नदुखे वा नपोले पनि यहाँबसेर कांग्रेसमा राजनीति गर्दै आएका आम कार्यकर्तालाई पोल्न थालेको छ र पोल्छ । आफूसँग प्रतिस्पर्धा गर्ने अन्य राजनितिक दलले निर्धारित कार्यक्रम हुन नसक्नुलाई कसरी हेर्छ भन्ने कुरा उदयपुरे केन्द्रीय नेतालाई नलागे पनि कांग्रेस (रुख) बाट राजनिती गर्दै गरेको आम कार्यकर्तालाई लाग्छ र उस्ले ती नेताहरुलाई उत्तरदायी बनाउन पहल गर्छ ।
तलको त्यो पीडित कार्यकर्ता उत्तरदायी बनाउने सवालमा ति नेताहरुलाई प्रश्न गर्छ तर नेताहरु सवाल गर्ने मुखहरु बन्द मात्र हैन प्रश्नहरु नै खारेज गरिदिन्छन वा निस्तेज गर्छन । बिपि कोइरालाले जन्माएको पार्टीले यस्तो निस्तेजको राजनिती गर्दा पार्टी भित्र लोकतान्त्रिक पद्धति कति जिवित छ भन्ने अर्को प्रश्न उठेको छ ।