प्रदेश १ मा मन्त्रिपरिषद् पुनर्गठन भएको छ। तत्कालीन नेकपामा देखिएको आन्तरिक कलहका कारण माओवादीतर्फका मन्त्रीले छाडेपछि खाली रहेको मन्त्रालयमा मुख्यमन्त्री शेरधन राईले नयाँ मन्त्री नियुक्ति गरेका हुन्।
मन्त्रिमण्डलका नयाँ अनुहारहरूमा माधव नेपाललाई छाडेर प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आएका र माओवादी छाडेर एमाले भएका प्राथमिकतामा परेका छन्। नयाँ मन्त्रीहरूमा भर्खरै माओवादी छाडेर एमाले प्रवेश गरेका टंक आङ्बुहाङ, माधव नेपाल समुहमा केहि समय रहेकी उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङ छन्।
आङ्बुहाङलाई अर्थ मन्त्रालय दिइएको छ भने सामाजिक विकास मन्त्रालयमा उषाकला राई, भौतिक पूर्वाधारमा अम्बिरबाबु गुरुङ र कृषिमा राम रानाले जिम्मेवारी पाएका छन्। कला घलेले कृषि राज्यमन्त्री र राजकुमार ओझाले वन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पद तथा गोपनियताको सपथ खुवाए भने मुख्य मन्त्री राईले राज्य मन्त्रीलाई सपथ खुलाएका छन्।
यसअघि आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका इन्द्रबहादुर आङ्बोलाई आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सक्रिय रहेको भन्दै मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए भने सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जयमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिएर अविश्वास प्रस्ताव पक्षमा हस्ताक्षर गरेका थिए।