लगातारको वर्षा भएपछि उदयपुरको त्रियुगा, चौदण्डी र बेलाका नगरपालिका केहि बस्ति डुवानमा परेका छन् भने करोडौको क्षेती भएको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई र बेल्ही जोडने त्रियुगा नदीको पुल बगाएको छ । दुई दिनदेखिको अविरल बर्षातले सिवाई पुलको दक्षिण तर्फको पिलर भासिएर दुई वटा स्लाब नै बाढीले बगाएको छ ।
१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाप बगाउँदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चौदण्डीगढी नगरपालिका ५ सिवाईका ४८ वर्षिय अख्तर मियाँ रहेका छन्।
यस्तै वेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका सयौ सयभन्दा बढी घर डुबानमा परेको छ। बाढीपीडितको उद्धारका लागि सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ। तपेस्वरीको बगाहा र आम्बासीका खहरे खोलामा गएराति आएको बाढी गाउँबस्तीमा प्रवेश गर्दा अहिले सो क्षेत्रमा तीन फिटसम्म पानी जमेको तपेस्वरीका जसबहादुर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार ती खोलामा आएको बाढीले तपेस्वरी क्षेत्र डुबानमा पर्नुका साथै जग्गा कटान गर्न थालेको छ।
स्थानीय खोलाहरूमा आएको बाढी गाउँघरमा प्रवेश गर्न थालेपछि स्थानीयबासीलाई सर्तकता अपनाउन आग्रह गरिएको र बाढीपीडितको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख तेजबहादुर कटुवालले बताए।
निरन्तर वर्षाले बेलकाको गिदेरी खोलामा आएको बाढीका कारण निर्माण सम्पन्न हुन लागेको गिदेरी पुलमा समेत क्षति पुगेको छ। उदयपुरको चौदण्डी गढी नगरपालिकाको सातधारेस्थित हवार खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेल्टार मदनचौकका ६५ वर्षीय गुमसेर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। नजिकैको गाउँ जानका लागि खोला तर्ने क्रममा उनलाई आज बिहान १० बजेतिर बाढीले बगाएको थियो।
बाढीले बगाएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी बेल्टारबाट खटिएको प्रहरी र स्थानीयबासीले उनलाई खोजि गरेका थिए। खोजीका क्रममा बगाएको स्थानभन्दा दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
पोष्टमार्टमका लागि शवलाई बेल्टार अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए।