खराब मौसमका कारण काठमाडौँबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमान बीचबाटै काठमाडौँ फर्किएको छ । विराटनगरस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख उत्सव खरेलका अनुसार मङ्गलबार साँझ खराब मौसमको कारण विराटनगरको लागि उडेको उक्त विमान पुनः काठमाडौँ नै फर्काइएको हो । प्रमुख खरेलले मङ्गलबार बेलुका सौर्य एयरलाइन्ससहित थप दुई कम्पनीका गरी चारवटा विमानको काठमाडौँबाट विराटनगर उडान प्रभावित भएको जानकारी दिनुभयो । वहाका अनुसार ‘खराब मौसमको कारण साँझ ६ बजेपछिको चारवटा उडान विराटनगर अवतरण गर्न सम्भव भएन’, ‘काठमाडौँबाट यात्रु लिएर उडान भरे पनि मौसम सफा नहुँदा समस्या देखिएको थियो। जसका कारण सबै उडान रद्ध भए ।
बेलुका मौसम खराब भएपछि साँझ ६ बजेपछिको सौर्यको एउटा, यती एयरलाइन्सको एउटा र बुद्धको दुईवटा उडान रद्ध भएको खरेलले जानकारी दिनुभयो । उडान भरेको सौर्यको जहाज बीचबाटै काठमाडौँ फर्काइएको भए पनि यती र बुद्धका विमान उडेका थिएनन् । प्रमुख खरेलले रद्ध भएका उडान आज बुधबार बिहानदेखि नियमित रुपमा अघि बढेको जानकारी दिनुभयो । विराटनगर विमानस्थलका अनुसार बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले काठमाडौं–विराटनगरका लागि दैनिक १९ वटासम्म उडान भर्ने गरेका छन् ।