नारायणहिटी दरवार परिसरमा रेस्टुरेन्ट खोल्ने बतास अर्गनाइजेसनको योजना संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको हस्तक्षेपले केही समयलाई रोकिएको छ । तर यसको चर्चा सेलाएको छैन ।
नारायणहिटी दरवार राजा वीरेन्द्र शाहको सपरिवार विनाश भएको ठाउँ हो । रक्तपात भएको ठाउँमा भित्ता भित्ता मा गोलीको दाग अझै पनि छ । त्यहाँ सुरक्षा दिएर बस्नेहरुको भनाइअनुसार त्यहाँ रातको समयमा छटपटी भएर रोएको चीत्कार अझै गुन्जिरहन्छ ।
नेपालीले अभिभावक गुमाएर कपाल खौरिएर वियोगमा डुबेको ठाउँ, हाँसीखेली परिवार बसेर राज्यका नीति निर्माण गर्ने ठाउँ, एकाएक मसानघाट भएको ठाउँ हो नारायणहिटी । अझै पनि गाउँ ठाउँबाट घुम्न जानेहरू आँसु झार्दै ‘कठै मेरो राजारानी’ भनेर न रोएको दिन हुँदैन । त्यहाँ जानेहरु, दरवार परिसरको अलिकति माटो घरमा लागेर राजारानीको सम्झना भनेर आफ्नो घरमा लिएर जाने गर्छन् ।
रगतै रगतले खोला बगेको त्यो ठाउँ, मुर्दा घर जस्तो भएको त्यो दिन सायदै नेपाली जनताले भुल्न सकेका छन् । त्यस्तो ठाउँमा आनन्द मानेर कसलाई खाना खान मन लाग्छ ? कसलाई रमाएर कफी पिउँदै बस्न मन लाग्छ ?
सामान्यतः यो कुरा त जसलाई पनि थाहा भएकै हो कि मान्छेको मृत्यु भएको ठाउँमा कुनै मन्दिर बनाइन्छ, कुनै वृक्ष रोपिन्छ । आत्म शान्तिको लागि पूजापाठ गरिन्छ । कुनै पनि धर्मले यो भन्दैन कि मान्छे मरेको ठाउँमा गएर खाऊँ, रमाऊ, रमाईलो गर्ने थलो बनाऊ भनेर । न त कुनै पनि नैतिकताको शिक्षाले नै सिकाउँछ यस्तो कुरा ।
मान्छेको मृत्यु भएको ठाउँमा कुनै मन्दिर बनाइन्छ, कुनै वृक्ष रोपिन्छ । आत्म शान्तिको लागि पूजापाठ गरिन्छ । कुनै पनि धर्मले यो भन्दैन कि मान्छे मरेको ठाउँमा गएर खाऊँ, रमाऊ, रमाइलो गर्ने थलो बनाऊ भनेर ।
तर पैसा र कमिसनको नाममा आज केही बिचौलियाहरु यतिसम्म गिरिसके कि के गर्न हुन्छ, के हुन्न, धर्म के हो, पाप के हो सबै बिर्सी सके । मानवता के हो, देशको इतिहास के हो, सबै नैतिकता बेचेर खाइसके । अरु देशमा यस्तो संरचना संरक्षण गरेर सुरक्षाका साथ राखिन्छ । आफ्नो इतिहास भनेर विश्वलाई चिनाइन्छ । विडम्बना हाम्रो देशमा भने इतिहास कौडीको भाउमा बेचेर खाने प्रपञ्च रचिन्छ ।
संग्रहालय बनाइएको नारायणहिटी दरवारमा दैनिक हजारौंको संख्यामा मान्छे आउने गरेका छन् । टिकटबाटै त्यहाँ लाखौं आम्दानी हुन्छ । तर, संग्रहालयबाट उठेको रकम भने कहाँ जान्छ, थाहा छैन । दरबारको फोहोरावाल बगैंचा उजाड र झारले कुरुप छ । राजपरिवारले दैनिक पूजाआजा गर्ने मन्दिरहरु लेउ र धुलोले गर्दा मक्किसकेको छ ।
फराकिलो बगैंचा फूलैफूलले हरियाली हुने त्यो ठाउँमा बीच बीचमा पर्खाल लगाउँदै टहरा र भवन बनेर त्यो बगैंचा कुरुप बनेको छ । बगैंचालाई गणतन्त्र पार्कको नाममा झन् संरचना बिगार्ने काम भइरहेको छ ।
संरचना विगार्दै नयाँ बनाउने नाममा सम्पत्ति भागबन्डा गरेजस्तो गरिरहेका छन् । शासनको वागडोर हातमा लिनेहरु, एकफेरा सोचांै त त्यो ठाउँमा तपाईंको परिवारको वंश नास भएको भए के तपाईं त्यस ठाउँमा कफी पिएर आनन्द मन लिएर बस्न सक्नु हुन्छ ?