काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको निर्णय नमान्नेलाई पार्टी छोड्न सुझाव दिएका छन् । नेपाली कांग्रेस काठमडौं क्षेत्र नम्बर–१ ले नयाँ बानेश्वरमा गरेको कार्यक्रममा नेता सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नु पर्ने बताए ।
“यदि पार्टी निर्णय नमाने हो भने छाडेर जाँदा हुन्छ,” सिंहले भने, “कांग्रेसभित्र बसेर कांग्रेस कम्जोर बनाउनेहरु पार्टीमा बस्नुभन्दा बाहिरिँदा पार्टीलाई राम्रो हुन्छ ।” उनले यसपटकको स्थानीय तह चुनावमा कांग्रेसका नेता कार्यकर्ता कसले के गरेको एक–एक हिसाब हुने चेतावनी दिए ।
“संविधान जोगाउन गठबन्धन कायमै राखेर चुनावमा जानु पर्ने बाधात्मक अवस्था रहेकाले चुनावसम्मै गठबन्धन कायमै रहनेछ,” उनले भने, “स्थानीय आवश्यकताका आधारमा गठबन्धन गरेर निर्वाचनमा जाने हो । सबैले त्यही अनुरुप आफूलाई तयार राख्नुपर्छ ।”
उनले पार्टी भित्रका फरक धार राख्नेलाई परिस्थिति बुझेर पनि लोकप्रियताका लागि गठबन्धन राखेकोभन्दै कथित क्रान्तिकारीको संज्ञा दिए ।
“पार्टीभित्रका केही आफूलाई क्रान्तिकारी भन्ने नेताहरुले सबै जान्दाजान्दै गठबन्धनविरुद्ध बोल्दा जनतामा अनावश्यक भ्रम सिर्जना भएको छ,” सिंहले भने, “पपुलर बन्ने नाममा पार्टीलाई क्षति पुर्याउने काम मात्रै भएको छ ।”
‘संविधान जोगाउनका लागि गठबन्धन कायमै राखेर चुनावमा जानुपर्ने बाध्यात्मक अवस्था छ । चुनावसम्मै गठबन्धन कायमै रहन्छ,’ उनले भने, ‘स्थानीय आवश्यकताका आधारमा गठबन्धन हुन्छ ।’
पार्टीभित्र एकथरी समूह सामाजिक सञ्जाल र मिडियामार्फत भ्रमको खेती गर्दै नियोजित रुपमा आफ्नो स्वार्थ पूरा नभएपछि व्यक्तिगत रुपमा चरित्र हत्याको अभियानमा लागिरहेको आरोप लगाए ।