उदयपुर । त्रियुगा नगरपालिकामा गरिवी निवारण र रोजगारी सिर्जना गर्नका लागि लघु उद्यम बिकाशका लागि एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको उद्यम बिकास शाखाले आयोजना गरेको कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
नगरमा उपलब्ध उद्यमीहरु संलग्न कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगर मेयर वसन्त कुमार बस्नेतले कुनै पनि उद्यम गर्दा दीर्घकालीन रुपमा गर्न र महत्वाकांक्षी भएर गर्न आग्रह गरे ।कुनैपनि उद्यम गर्दा उद्यम शिलताको तालिम लिएर मात्र गर्न र थोरै समयको लागि वा भ्याउदा मात्र गर्ने गरि नगर्न उनले सुझाव दिए ।
“यहाँ अनुदान लिनका लागि मात्र उद्यम गरे जस्तो गर्ने र अनुदान लिए पछि छाडिदिने चलन छ त्यसो गर्दा साच्चिकै उद्यम गरेर बसेका लक्षित बर्ग सम्म योजना पुग्दैन त्यसैले हाम्रोमा लघु उद्यम बढ्न सकेको छैन ।” उनले भने, “नगरको बिकास र समृधिका लागि, यहाँको गरिबी निवारणका लागि अझ भनौं युवाहरूलाई रोजगारी सिर्जना गर्नका लागि उद्यमलाई प्रबर्दन गर्ने गरि नगरले योजना बनाएर काम गर्ने छ ।”
मेयर बस्नेतले त्रियुगा नगर आधार क्षेत्र हेरेर कृषिमा याबसायिक अनुदान दिएर उद्यमको जग बसाउने प्रष्ट पारे । केही दिन अघि खोटाङ पुगेर आएको बिषयलाई जोड्दै मेयर वसन्त बस्नेतले खोटाङमा अवस्थित हलेशी दर्शन गर्न आउने मान्छेलाई उदयपुर हुँदै हलेशी पुग्ने छिटो र सजिलो सडक निर्माण गरेर रौता पोखरीको पनि दर्शन गरेर जाने बाताबरण सिर्जना गरि यहाँ पर्यटन प्रबर्द्धन र अन्य उद्यमलाई समेत टेवा पुग्ने गरि काम गर्ने उल्लेख गरे ।
उदयपुरको त्रियुगा भएर गएको मदन भण्डारी राजमार्गका कारण पनि यहाँका उद्यमीहरुले उत्पादन गरेको समान बजारिकरण गर्न कुनै समस्या नहुने उनले जिकिर गरे । “दीर्घकालीन हुने गरि उद्यम गर्नुहोस नगरले अनुदान दिने बिषयमा र तपाईहरुले उत्पादन गरेको समान खपत गर्न गराउन बजारिकरण गर्न कुनै कसर बाँकी राख्दैन ।” उनले भने ।
नगरमा उद्यमको विकास हुँदा त्यसले रोजगारी बढाउने बेरोजगारी घटाउने , व्यक्तिको आय बढाउने, नगरले उद्यमबाट कर उठाउने हुँदा नगरको आम्दानी बढ्ने , व्यवस्थापकिय क्षमताको विकास हुने र जोखिम लिने आँट पलाउने, आयात घटेर निर्यात बढाउने , नगरको व्यपार बढ्ने , व्यक्ति-व्यक्तिमा शिप र दक्षताको विकास हुने र अनुसन्धान र खोजको विकास भएर नयाँनयाँ प्रविधि पहिल्याउन सकिने मेयर बस्नेतको ठहर छ ।