उदयपुर- उदयपुरको त्रियुगा नगरपालिकाको नवौं नगर अधिबेशन सम्पन्न भएको छ । नगरले अगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट, नीति तथा कार्यक्रम , विभिन्न बिधेयक र प्रस्तावहरु पास गर्दै अधिबेशन सम्पन्न गरेको हो ।
नगर अधिबेशनले आ.व. ०७९/८० का लागि १ अर्ब २८ करोडको ५३ लाख ३० हजार ४ सय चालीस रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
नगरको नवौं अधिबेशनबाट आर्थिक बिधेयक, वन तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी बिधेयक र साझेदारीमा कार्यक्रम संचालन तथा व्यवस्थापन गर्ने सम्बन्धी बिधेयक सर्व सम्मत पास भएका छन ।
यस्तै नगर सभाले नगर भरी रहेका १६ वडा मध्य वडा नं ५ र ६ को चुरे जंगलबाट दक्षिण र पश्चिमका भुभागलाई लाई छुट्याएर १७ वडा बनाउने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । भौगोलिक रुपमा नमिलेको लालपत्ता, दमौती, घन चक्रे, बुर्जा काल्ला र खार खोला लगायतका भुभाग समेटेर अलग्गै एक वडा थप गर्ने प्रस्ताव नगर सभाले सर्वसम्मत पास गरेको छ ।
नेपालको संबिधानले निर्दिष्ट गरेको सिमा हेरफेर सम्बन्धी व्यवस्था बमोजिम नगरले सो प्रस्ताव निर्णायर्थ अब प्रदेश सरकारलाई पठाउने भएको नगर प्रमुख वसन्त कुमार बस्नेतले जानकारी दिए ।
यस्तै नगरसभाले वडा नं ७ मा रहेको एक अधारभुत बिद्यालयलाई सोही वडा माताहात राख्ने निर्णय गरेको छ । राज्य पुनःसंरचना हुनुपूर्व हालको वडा नं. १६ र साविक जाल्पा चिलाउने गाबिसले सिफारिस गरि खोलिएको हुदा उतैको रेकर्डमा रहने हुदा सो बिद्यालयलाई वडा नं. ७ मै रहने गरि प्रस्ताव सर्वसम्मत पास भएको छ ।
नगरसभालाई सम्बोधन गर्दै नगरप्रमुख बस्नेतले नगरको सुशासन पारदर्शिता र समुन्नतिका लागि ल्याइएका विभिन्न प्रस्ताव , बिधेयक, बार्षिक नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत गरि पारित गरेकोमा धन्यवाद दिए ।
टोल वडा देखि सम्पुर्ण सरोकारवालाहरु सँग छलफल गरेर बनाइएको नीति योजना तथा कार्यक्रमले सबै क्षेत्रलाई समेट्ने प्रयास गरिएको नगर प्रमुखले बताए । छोटो समयमा फास्टट्रयाक बाट सवै नीति तथा योजना बनाउन परेकोले केही कार्यक्रम छुटेको भए आउदा आर्थिक बर्षमा ती क्षेत्रलाई पनि समेट्ने उनले जनाए ।
यस्तै उप प्रमुख महेश्वरी राईले नगरको नीति तथा कार्यक्रममा आधारित भएर बजेट व्यवस्थापन गरेको र यो बजेटले समग्र क्षेत्रलाई समेट्ने बिश्वास व्यक्त गरिन ।