उदयपुर । नेपाल रेडक्रस सोसाइटीले कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका र प्रभावित बनेका विपन्न समूदायका परिवारलाई आर्थिक सहयोग गरेको छ ।
रेडक्रसले त्रियुगा नगरपालिका , चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका र कटारी नगरपालिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएका र प्रभावित बनेका विपन्न समूदायका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
कोरोना भाइरसका कारण परिवार गुमाएका र आर्थिक समस्या झेलिरहेका अती विपन्न २५ घर परिवारलाई आर्थिक सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाका मन्त्री शुवास श्रेष्ठले जानकारी दिए ।
आज एक कार्यक्रम गर्दै त्रियुगा नगरपालिकाका ६ घर परिवारलाई प्रत्यक परिवार ३० हजारका दरले आर्थिक सहयोग गरिएको छ । उनिहरुको जिविको पार्जन गर्न थोरै भए पनि बीउ पुजिको लागि ३० हजार आर्थिक सहयोग गरेको मन्त्री श्रेष्ठले बताए ।
आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्त बस्नेतले रेडक्रस मानव सेवाको अग्रणी संस्था रहेको भन्दै प्रशंसा गरे । कोरोना संक्रमण अहिले पनि रहि रहेकोले यसको व्यवस्थापन गर्न नगरले प्रतिकार्य योजना ल्याएर पहिले जस्तो प्रभाव पर्न नदिने उल्लेख गरे ।
उदयपुर एक पटक कोरोनाको इपिसेन्टरकै रुपमा देखिएको बेला आफुले बाहिर बसेर पनि धेरै विपन्न र असहायहरुका लागि सहयोग गरेको स्मरण गर्दै अब पनि तेस्ता समुदायका लागि नगर सदैव सहयोगार्थ तयार रहेको प्रष्ट पारे ।
यस्तै उप प्रमुख महेश्वरी राइले रेडक्रसले गरेको सहयोग प्रती धन्यवाद व्यक्त गर्दै नगर पनि यस्ता परिवार र समुदायको लागि सहयोग गर्न प्रतिबद्ध रहेको बताइन ।