उदयपुर । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग उदयपुरको गाईघाटमा पनि देखा परे पछि उक्त संक्रमण फैलन नदिने अभियानमा त्रियुगा नगरपालिका जुटेको छ ।
लामखुट्टेको टोकाई बाट सर्ने डेङ्गी रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाउदै डेङ्गी रोकथामका लागि नगरपालिकाले औषधी छर्नेे काम गरेको छ ।
बर्षातको समयमा खाल्डाखुल्डीमा पानी जम्ने, झारापात धेरै हुने हुदा डेङ्गी रोग सार्ने लामखुट्टेले त्यस्ता पानी जम्ने ठाउँमा फुल पार्ने र तिनै फुल लार्भा हुँदै लामखुट्टे बन्ने हुदा त्यो जातका लामखुट्टे बढ्ने गर्दछ । त्यस्ता पानी जम्ने र झारपात भएका क्षेत्रमा औषधी छर्केर त्यो जातको लामखुट्टे बढ्न नदिने कार्य शुरु गरेको हो ।
सफा पानीमा मात्र बस्ने यो प्रजातीको लामखुट्टेले टोकेमा डेङ्गीको संक्रमण हुने गर्दछ । डेङ्गी सार्ने लामखुट्टेले सामान्यतय दिउसो मात्र टोक्ने वा सक्रिय रहने बताइन्छ ।
कालो अनि सेतो मिसिएको खुट्टा र जिउ भएको सानो अनि छिट्टो टोकेर उडि हाल्ने यो लामखुट्टेले करिब १००-१५० मिटरको दुरिसम्म उडेर टोक्ने गर्छ। यो लामखुट्टेले रोगीलाई टोकेको ८-१० दिनमा उसको जिउमा डेङ्गुको भाइरस गुणात्मक रूपमा बढ्छ । लगभग १०० दिनसम्म बाच्ने क्रममा यो लामखुट्टेले ५०० मीटरभन्दा बढी दुरि सम्म उडेर गएर टोक्ने गर्छ।
उच्च ज्वरो डेङ्गी रोगको प्रमुख लक्षणमध्ये एउटा हो। सुरुमा मन्द ज्वरो आउने र त्यो बढ्दै जाने जनस्वास्थ्यविज्ञहरूले बताएका छन ।
केही व्यक्तिमा हाडका जोर्नी र मांसपेसी दुख्ने, छालामा डाबर अथवा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखाको गेडी र हड्डी दुख्ने र बेहोस हुने तथा उच्च रक्तस्राव हुने जस्ता लक्षण पनि कतिपयमा देखिने गर्दछ ।