उदयपुर । त्रियुगा नगरपालिकाले जिल्ला अस्पताल उदयपुरलाई डेंगी रोग पहिचानका लागि प्रयोग गरिने टेस्ट कीट उपलब्ध गराएको छ ।
देशभर र जिल्लामा समेत डेंगी रोगका विरामी बढ्न थाले पछि टेस्ट गरेर समयमा उपचार गराउन सहजताका लागि डेंगी रोग टेस्ट कीट उपलब्ध गराएको हो ।
शुक्रबार एक कार्यक्रम गर्दै नगर प्रमुख वसन्त कुमार बस्नेतले अस्पताललाई २ सय थान र देउरी स्वास्थ्य चौकीलाई १०० थान गरि ३०० थान टेस्ट कीट हस्तान्तरण गरेका हुन ।
जिल्लामा डेंगीका बिरामी बढ्न थालेको र टेस्ट कीटको अभाव देखिएका कारण जिल्ला अस्पताललाई टेस्ट कीट उपलब्ध गराएको नगर प्रमुख बस्नेतले बताए ।
खोटाङ देखि सप्तरी सम्मका विरामी उपचार गर्ने जिल्ला अस्पतालको स्वास्थ्य सुधारका लागि आर्थिक, भौतिक र स्वास्थ्य जनशक्ति समेत त्रियुगा नगरपालिकाले उपलब्ध गराउदै आएको प्रमुख बस्नेतले जानकारी दिए ।
“हामीले जिल्ला अस्पताललाई १० जना अनमी, स्टाफनर्स आफ्नै व्ययभारमा दिएका छौ” उनले भने, “आर्थिक १० लाख बढी अस्पतालको लागि छुट्याएका छौ, यो जिल्लाकै अस्पताल हो यसको सुधारका लागि सबै पालिकाले आर्थिक र भौतिक सहयोग गर्न पर्यो ।”
डेंगी रोगको संक्रमणलाई फैलन नदिन यस अघि देखि नै नगरपालिकाले विभिन्न सचेतनात्मक सूचना, सचेतना मुलक कार्यक्रम र डेंगी संक्रमण सार्ने लामखुट्टे मार्ने औषधि समेत छर्किने गर्दै आएको छ ।