उदयपुर । प्रदेश एकमा ठुलो मत अग्रताका साथ नेकपा एमाले पहिलो दल बनेको छ । ९३ सिट रहेको प्रदेश १ सभामा एमाले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेर पहिलो दल बनेको हो ।
प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट जितेर नेपाली कांग्रेस दोस्रो दल बनेको छ ।
प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेर माओवादी तेस्रो दल बनेको छ । त्यस्तै, राप्रपाले प्रत्यक्षमा दुई र समानुपातिकमा चार गरी र ६ सिट जित्दै चौथो पार्टी बनेको छ ।
एकीकृत समाजवादीले प्रत्यक्षमा तीन र समानुपातिकमा एकसहित चार सिट जितेको छ । प्रत्यक्षमा कुनै जित ननिकालेको जसपाले समानुपातिकमा एक सिट पाएको छ ।
सरकार बनाउन समस्या
१ नं प्रदेश सभामा सरकार बनाउन सकस देखिएको छ । सत्ता गठबन्धन र एमाले गठबन्धन दुवैको स्पष्ट बहुमत नआउदा प्रदेश १ मा सरकार गठनमा सकस देखिएको हो ।
१ नं प्रदेश सभामा प्रत्यक्षतर्फ ५६ सिटमध्ये हालसम्म एमाले गठबन्धनले २७ सिट जित्दा सत्ता गठबन्धनले २९ सिट जितेको छ । समानुपातिकतर्फ एमाले गठबन्धनको ९ लाख २५ हजार ६ सय ९४ मत रहेको छ भने सत्ता गठबन्धनको ८ लाख १ सय ५८ मत रहेको छ ।
समानुपातिकमा ३७ सिट रहेको १ नं प्रदेश सभामा एमालेले समानुपातिकमा १५ सिट, कांग्रेसले १२, माओवादीले ४, राप्रपाले ४, एकीकृत समाजवादीले १ र जसपाले १ सिट जितेको छ ।
प्रत्यक्ष र समानुपातिक गरेर सत्ता गठबन्धनको ४६ सिट पुग्दा नेकपा एमाले एक्लैले ४० र एमाले गठबन्धनमा रहेको राप्रपाले ६ र जसपाले १ गरि ४७ पुर्याएको छ ।
प्रदेश १ मा सरकार बनाउन ४७ सदस्य आवस्यक पर्ने छ । जसमा सत्ता गठबन्धनको ४६ मात्र संसद रहेका छन । एमाले गठबन्धनमा ४७ रहे पनि गठबन्धन भित्र रहेको जसपाले एमालेलाई सरकार बनाउन सहयोग नगर्ने बताउदा एमाले गठबन्धन पनि सरकार बनाउन असमर्थ रहेको छ ।