गाईघाट । उदयपुर सिमेन्ट उद्योगले क्षमता बमोजिम उत्पादन गर्न नसक्नुको कारण उद्योगका मेसिनहरु जिर्ण हुँदै गएको जनाएको छ । एक प्रेस बिज्ञप्ति जारी गर्दै उद्योगले मिल मेसिनरी समानहरु जिर्ण हुँदै गएकाले मर्मत सम्भार गर्नुपर्ने भएकाले कहिले बन्द हुने कहिले संचालन हुने हुँदा उद्योगले क्षमता बमोजिम उत्पादन गर्ने नसकेको जनाएको हो ।
उद्योगको उत्पादन बढाउन थन्किएर रहेका मेसिनरी समानलाई मर्मत सम्भार गरि पुनः सञ्चालनला ल्याइएको उद्योग द्वारा जारी बिज्ञप्तिमा भनिएको छ । मिल, मेसिनरीहरुको मर्मतसंभार गर्ने क्रममा करीब १५ बर्ष अघि देखि बिग्रेर थन्किएको स्ट्राइकर मेसिन इलेक्ट्रीकल बिभागका इन्जिनियर सत्य नारायण साहको टीमले पिएलसी मर्मत गरि पुन: संचालनमा ल्याईएको उद्योगका सूचना अधिकारी लक्ष्मण प्रसाद पोखरेल द्वारा जारी बिज्ञप्तिमा जनाइएको छ ।
उद्योगले आफ्नै श्रोत साधन तथा जनशक्तिबाट कोइला यार्डबाट कोलमिल सम्म कोइला पठाउने बेल्ट तयार गरेको र यसपटक स्ट्राइकर बनाएको बिज्ञप्तिमा उल्लेख छ । स्ट्राइकरको मर्मतसम्भार पछि मूख्य कच्चापदार्थ चूनढुंगाको गुणस्तरमा एकरुपता हुने भएकोले सिमेण्टको गुणस्तर पनि सोही अनुसार एकरुपता हुने समेत बिज्ञप्तिमा भनिएको छ ।
उक्त मर्मत गरिएको मेसिन पुन: संचालनको उद्धघाटन नेपाल राष्ट्र बैंकका गभर्नर श्री महा प्रसाद अधिकारीले गरेका छन । उद्घाटन कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले उद्योगका कर्मचारीको सीप र ज्ञानबाट यसैगरी थन्किएर रहेका अन्य मेसिनहरु पनि मर्मत गरी संचालन पश्चात उत्पादन र उत्पादकत्व बढाउन सुझाब समेत दिएका छन ।
उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जीर्ण मेसिनरीहरुको रिप्लेसमेण्ट गर्न, पुंजीगत प्रकृतिको मर्मतसम्भार गर्न र नयाँ प्रविधि जडान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई अनुरोध गरिरहेको जानकारी दिए ।
उनले क्लिन सेल फेर्ने, बर्नर फेर्ने, मेटालिक चेन कन्भेयर फेर्ने, जिसिटी मर्मतसम्भार गर्ने, ब्लेण्डिङ्ग साइलोमा ब्लोअर्स फिटिङ्ग गर्न लगायतका कार्यको लागि रकम जुटाइदिन गभर्नर अधिकारी समक्ष अनुरोध गरेका छन्।