गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा जारी प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगिताको पहिलो चरणका खेल सकिएका छन । पहिलो चरणको अन्तिम खेलमा गाईघाट फुटबल क्लव बिजयी भएको छ । गाईघाट फुटबल क्लवले एपीएफ पूर्वाञ्चल सुनसरीसँग २-१को अन्तरले बिजयी भएको हो ।
निर्धारित ६० मिटेको खेलमा दुवै टिमले गोल गर्न सकेनन । निर्धारित समयमा गोल नभएपछी १५ मिनेट अतिरिक्त समय थपिएको थियो । थपिएको अतिरिक्त समयको ९ औं मिनेटमा युवा खेलाडी युवराज थापाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
थापाले गोल गरेको ३ मिनेट पछि पविन राईले १२ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर बनाए । अतिरिक्त समयको अन्तिम मिनेटमा सुनसरीका भरत नेपालीले १ गोल फर्काउदै नतिजा २-१ ले गाईघाटलाई सुम्पनु परेको हो ।
प्रतियोगिताको म्यान अफ दी म्याच गाईघाटका युवराज थापा घोषित भएका छन । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए ।
मगरका अनुसार प्रतियोगिताका पहिलो चरणका खेल सकिएका छन । १८ गते बाट सेमिफाइनलका खेल सुरु हुने छ । सेमिफाइनलमा फ्युजन फुटबल क्लव बोक्से, गाईघाट फुटबल क्लव गाईघाट, गोल बजार स्पोर्ट्स क्लव सिराहा र कटारी फुटबल क्लव रहेका छन । २१ गते प्रतियोगिताको फाइनल खेल हुने छ ।