उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा जारी प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगितको उपाधि फ्युजन क्लव बोक्सेले चुमेको छ ।
वडा युवा तथा खेलकुद विकास समितिले गंगा खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा गाईघाट फुटवल क्लवलाई पछि पार्दै आयोजक बोक्सेले जित निकालेको हो ।
निर्धारित ६० मिनेटको खेल १–१ गोलमा टुङ्गिएपछि खेल ट्राईव्रेकरमा परिणत भएको थियो । ट्राईव्रेकरमा ४-४ खेलाडीले पेनाल्टी प्रहार गरेका थिए । बोक्सेका गोल रक्षकले गाईघाटको एक पेनाल्टी सुटआउट छेके पछि आयोजक बोक्सेले उपाधी जित्न सफल भएको हो ।
निकै प्रतिसपर्धात्मक खेलको ५४ मिनेटमा फ्युजनका सुनिल खड्काले एक गोल गर्दै खाता खोलेका थिए । थप गरिएको अतिरिक्त समयको अन्तिम समयमा गाईघाटका पविन राईले एक गोल गरेपछि खेल वरावरीमा टुङ्गिएको थियो ।
जितसँगै फ्युजनले १ लाख नगदसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता गाईघाटले ५० हजार नगद र ट्रफीमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा सात बिद्याका उत्कृष्ट खेलाडीलाई नगदले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए ।
उनका अनुसार खेलको म्यान अफ दि म्याच फ्युजनका सुदिप श्रेष्ठ घोषित भए । त्यसैगरी वेष्टगोलकिपर फ्युजनकै प्रमिज्य गच्छदार, वेष्ट डिफेन्स फ्युजनका टिप्सन राई, वेष्ट कोच सोही समुहका हेम राई घोषित भए । त्यस्तै उदयमान खेलाडीको रुपमा फ्युजनकै सैसन राई, सर्वोत्कृष्ट खेलाडी सोही समुहका दिपक मगर र वेष्टमिडफिल्डर गाईघाटका अन्जन हमाल घोषित भए ।
विजेता र उपेविजेता समुहलाई त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत, उपमेयर महेश्वरी राईले नगदसहित ट्रफीले सम्मान गरे । वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता प्रतियोगितामा सिरहा, सप्तरी, सुनसरी र उदयपुर गरी ८ वटा टिम सहभागिता रहेको सदस्य मगरले जानकारी दिए ।
वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता उदयपुरकै लागि यो सबैभन्दा ठुलो धनराशीको गोल्डकप हो । यसअघि वडाहरुले सामान्य राशीका वडास्तरीय प्रतियोगिताहरु हुँदै आएका छन् । वडाध्यक्ष किरण पाण्डेले आगामी बर्षलाई अझ बढाएर लैजाने बताए ।