उदयपुर । मोटरसाइकल दुर्घटना परि घाइते भएका त्रियुगा नगरपालिका वडा नं १२ का वडा अध्यक्षको निधन भएको छ। फाल्गुन ६ गते शिवरात्रिका दिन मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका वडा अध्यक्ष चुडा राज काफ्लेको १३ गते शनिबार निधन भएको हो।
मोटरसाइकल दुर्घटना पछि घाइते भएका अध्यक्ष काफ्लेलाई विराटनगरस्थित न्युरो हस्पिटलमा उपचारका लागि लगिएको थियो । एक हप्ता हस्पिटलमा उपचार गर्दा पनि उपचार सम्भव हुन नसके पछि उनलाई घर फिर्ता ल्याइएको थियो। शनिबार साँझ गाईघाटस्थित निवासमा ल्याएको तीन घण्टामै निधन भएको हो । काफ्लेको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट सहभागि भई वडाध्यक्षमा विजयी बन्नु भएको थियो ।
अध्यक्ष काफ्लेको पार्थिव शरीरमा त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले राष्ट्रिय झण्डा वडायर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए। वडा अध्यक्ष काफ्लेको निधनले नगरपालिकाले एक अभिभावक र असल राजनीतिकर्मी गुमाउन परेको नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले बताए ।
श्रद्धान्जली पछि उनलाई अन्त्यष्टिका लागि त्रियुगा नदी पुराईएको थियो । अन्त्यष्टिमा नगर प्रहरीले सलामी अर्पण गरेको थियो। यस्तै वडा अध्यक्ष काफ्ले त्रियुगा वडा नं १२ का नेपाली कांगेसका सभापति समेत रहेका थिए। उनलाई अन्त्यष्टि कार्यक्रममा नेपाली कांग्रेसका सभापति हिमाल कार्की र प्रदेश १ सह–महामन्त्री बिनोद वस्नेतले पार्टीको झण्डा ओढाएर सम्मान गरेका थिय ।
यस्तै अन्त्यष्टि कार्यक्रममा उदयपुर निर्माण व्यवसायी संघका सदस्य समेत रहेका अध्यक्ष काफ्लेलाई निर्माण व्यावसायी संघका अध्यक्ष कौशल कुमार आचार्य लगायतको टिमले समेत सम्मान गरेको थियो।