उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको शनिबार नगर प्रमुख वसन्त बस्नेतले उद्घाटन गर्नु भएको छ । त्रियुगा नगरपालिका वडा नं. ८ र १६ का ९ सय घरधुरीमा खानेपानी पुर्याउने उद्देश्यका साथ वृहत शाहीखोला पम्पिङ खानेपानी आयोजना निर्माण भइरहेको छ ।
करिव ३ करोड लागतमा निर्माण भइरहेको आयोजनामा हाल सम्म ८० लाख बढीको काम भैसकेको छ । बहुबर्षिय परिआयोजना अन्तर्गत हाल सम्म खानेपानीको मुहानमा रिजर्भ ट्याङ्की निर्माण गरेर यस अघि संचालनमा रहेका पुराना ट्याङ्कीमा पानी हालेर खानेपानीको बितरण शुरु गरिएको हो ।
यस अघि स्थानीय शाहीखोलाबाट खोलाको पानी ल्याएर खोलाको धमिलो खानेपानी प्रयोग गर्दै आएका थिए । अहिले प्रदेश सरकारको लगानीमा बनेको खानेपानी आयोजनाबाट पुरानै ट्याङ्की मार्फत भए पनि स्वच्छ खानेपानी पाएपछी गाउँका स्थानीयहरुले खोलाको धमिलो खानेपानी खान बाध्यता टरेको छ ।
खानेपानी आयोजनाको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेतले त्रियुगा नगरपालिकामा संचालित २४ वटा खानेपानी योजना यसै बर्ष भित्र सम्पन्न गरेर खानेपानिको समस्या अन्त्य गर्ने बताउनु भयो । उहाँले खानेपानीमा राजनीति नगरी यसको संरक्षणमा सवै लाग्नु पर्ने धारण व्यक्त गर्नु भयो ।
निर्माणधीन खानेपानीबाट उक्त वडाका ९ सय घर धुरीलाई खानेपानी सुविधा पुग्ने शाहिखोला सामुदायिक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।
स्थानीय आपसोता खोलामा भुमिगत पानी विद्युतको माध्यमबाट १७ सय मिटर टाढा रहेको रिजर्व ट्याङ्कीबाट खानेपानीको वितरण सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष मदनराज कटुवालले जानकारी दिनु भयो । अध्यक्ष कटुवालका अनुसार अहिले संचालनमा रहेका पुराना खानेपानी ट्याङ्कीमा पानी मिसाएर १ सय ४० धारामा पानी उपलब्ध गराइने छ ।