उदयपुर । निजामती कर्मचारीहरूका राष्ट्रियस्तरका संघ संगठनहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । आफूहरूका मागलाई सरकारले बेवास्ता गरेको बताउँदै कर्मचारीहरूले सरकारले अझ बेवास्ता गरे दैनिक कामकाज ठप्प पार्ने सहितका आन्दोलनका कार्यक्रम सहितको ज्ञापन पत्र बुझाएका हुन ।
ज्ञापन पत्र बुझाउने क्रममा नेपाल निजामती कर्मचारी युनियन उदयपुरका अध्यक्ष भगवती खतिवडाले वैशाख १९ र २० गते प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्व र मुख्य सचिवलगायतका उच्च सरकारी अधिकारीहरूलाई एसएमएस पठाउने कार्यक्रम रहेको बताइन ।
अध्यक्ष खतिवडाका अनुसार वैशाख २१ गते सिंहदरबार कार्यस्थल रहेका कर्मचारीहरू कार्यालयमा अनुपस्थित रही कामकाज ठप्प पार्नेछन् । सरकारको बेवास्ताका कारण आफूहरूले बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गर्न परेको कर्मचारी संगठनका अध्यक्ष पुण्य प्रसाद पौडेलले बताए ।
देश संघीय राज्य व्यवस्थामा गएको लामो समयसम्म संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन निर्माणमासमेत अन्योलता सिर्जजना भएको पौडेलले बताए ।