उदयपुर । नेपाल निजामती कर्मचारी युनियन उदयपुरले नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान तथा अन्तर क्रियात्मक कार्यक्रम गरेको छ । युनियन उदयपुरका अध्यक्ष भगवती खतिवडाको सभापतित्व, युनियनका केन्द्रीय अध्यक्ष गोपाल पोखरेलको प्रमुख आतिथ्यता र त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतको बिशिष्ठ आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सरकारले समयमा निजामती सेवा ऐन व्यवस्था नगर्दा राष्ट्रसेवक कर्मचारी मर्कामा परेको बताए । उनले काम संगै कर्मचारीहरुको सरुवा, बढुवामा समेत कठिनाई भएकोले यसतर्फ सरकारले ध्यान दिन नसकेको आरोप लगाए ।
यस्तै बरिस्ठ उपाध्यक्ष उत्तम कटुवालले ऐन नहुँदा कर्मचारीको तहगत वृद्धिका साथै अन्य पक्षको विकासमा अवरोध भएको उल्लेख गरे । कोशी प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष मान बहादुर वनले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुँदा कर्मचारीहरुले बदलिदो परिस्थितिमा कहाँ पुग्ने र कसरी काम गर्ने भन्ने विषयमा अन्यौलता सिर्जना भएको भन्दै पेशागत अधिकारका लागि पनि एकजुट हुनुपर्नेमा जोड दिए । उनले गठबन्धन र गुटको बहाना बनाएर विपक्षीहरुको शरणमा पर्दै आफ्नै पार्टीको शुभेच्छुक संस्थालाई मास्न अहिले कांग्रेस पार्टीका केही नेता लागि परेको आरोप लगाए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै नगर प्रमुख बसन्त बस्नेतले राष्ट्र सेवक कर्मचारीहरुले रचनात्मक रुपमा जनताको सेवालाई प्रभावकारी बनाउन पर्ने बताए । सेवालाई व्यवस्थित र प्रभावकारी बनाउनुका साथै विकास योजना कार्यन्वयमा कर्मचारीको भूमिका महत्वपूर्ण रहने भएकोले कर्मचारीका लागि आवश्यक ऐन, नियम व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी र सेवा निवृत्त कर्मचारीहरुलाई प्रसंसा पत्र र सम्मानपत्र प्रदान गरिएको थियो । युनियनमा आवद्ध जिल्ला भरिका अधिकांस कर्मचारीको उपस्थिति थियो।