उदयपुर । उदयपुरको कटारी नगरपालिका ३ स्थित सदावहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्रि घिमिरे पक्राउ परेका छन। अवैद्य रुपमा रुख कटानी गरी उपभोक्तालाई विरतण गरेको आरोपमा घिमिरेलाई वन कार्यालयले पक्राउ गरेको हो ।
वन ऐन र नियमावलीअनुसार वन ब्यवस्थापनका लागि कार्ययोजना वनाएर जिल्ला वन कार्यालयबाट स्विकृत गराई कार्यालयको छपान र कटानको आदेश लिएर मात्र रुख कटान गर्न पर्नेमा आफूखुसी रुख कटान गरेका कारण अध्यक्ष पक्राउ परेका हुन।
अध्यक्ष घिमिरेले वन कार्यालयसँग समन्वय नै नगरी ४८ वटा रुख काटेर उपभोक्तालाई मनोमानी ढंगले रसिद समेत नकाटी ४०/५० हजारका दरले रकम उठाएर वितरण गर्ने गरेको पाइएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीले जनाएको छ ।
वन ऐन ०४९ र वन नियमावली ०५१ अनुसार हरेक सामुदायिक वन उपभोक्ता समुहले समुह संचालनका लागि विधान र वन ब्यवस्थापनका लागि कार्ययोजना वनाएर जिल्ला वन कार्यालयबाट स्विकृत गराउनु पर्ने ब्यवस्था छ। वन कार्ययोजना स्विकृत भएपनि काठ काट्नु पर्दा हरेक पटक छुट्टै अनुमती लिनु पर्छ। समुहले माग गरेका आधारमा वन कार्यालयले छपान र कटानको आदेश दिने गरेको छ। जसमा वन कार्यालयले आफनो टाँचा (छाप) लगाएका रुख मात्रै समुहले काट्ने अनुमति पाउँछ।
तर, समूहका अध्यक्ष घिमिरेले रुख कटान आदेश सव डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएको भन्दै आए पनि कटान आदेश लिएका छैनन। सव डिभिजनका रेन्जर युवराज खरेलले मौखिक रुपमा कार्ययोजनाको काम गर्दै गरौंला, रुख काट्नु भनेकोले दुई सातायता रुख काटेर उपभोक्ताको घर घरमा पुरयाइएको स्थानीयहरू बताउँछन् । अहिले बन कार्यालयले उपभोक्ताको घर घरमा गएर वितरण गरेको काठ वरामद गरेको छ।
उपभोक्ताले भने वन कर्मचारीको मिलेमतोमा रुख काटिएको बताएका छन् । यसअधि काठसहित रंगेहात पक्राउ गरेको ट्याक्टर छोड्ने, कारबाहीका लागि प्रमाण नपुगेकाले प्रमाण जुटाउनु पर्ने जस्ता गैरजिम्मेवार जवाफ वन कर्मचारीले दिने गरेकाले उनीहरुको संलग्नता रहेको उपभोक्ता समूहका पूर्वअध्यक्ष राजु मगरले बताए ।