उदयपुर। चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले अप्रयाप्त बजेटका कारण जनताका अपेक्षित काम गर्न नसकिएको बताएका छन । आफ्नो कार्यकालको एक वर्ष व्यतित गरेको उपलक्ष्यमा आज गरेको पत्रकार सम्मेलनमा मेयर लामाले यस्तो बताएका हुन।
संघिय सरकारले स्थानीय सरकार मार्फत बजेट कार्यन्वयन गराउन पर्नेमा सोझै माथी बाट सिमित स्रोत साधनमा बाधेर राख्दा गर्दा स्थानीया सरकारले जनताका अपेक्षित काम गर्न नसकेको बताए । “मुखले बोल्ने हैन कामले देखाउने ठाउमा हामी आएका छौ तर बजेट छैन”, मेयर लामाले भने, “हामीले बिकास निर्माण गर्न नसकेको हैन बजेट नभएका कारण खुम्चिएर बस्न परेको छ।”
एक बर्षीय प्रगतिमा नगरपालिकाले आफ्नो कुल बजेटको १३ करोड ४२ लाख बिकास खर्चमा खर्चेको जनाएको छ। विकासे काममा एक वडा एक ट्रस पुल अवधारणा अनुसार ९ वटा ट्रष्टब्रिज, ७ वटा मोटोरेवल पुल, ७ हजार ८ सय मिटर सडक कालोपत्रे, १३ किलोमिटर नयाँ सडक ट्रयाक खोल्ने, नगर प्रोफाइल तयारी, सडक यातायातको गुरु योजना तयारी, पंचबर्षिय आवधिक योजना तयारी, चौदण्डीगढी दरबारको डिपिआर, नगरको बजार क्षेत्रहरुमा १२ वटा टावर लाइट जडान सहित नगर भरी विद्युतका काठेपुल हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ६ वटा सिचाई आयोजना, ९ वटा डिपबोरिङ, २२ किलोमिटर ग्राभेल, एउटा स्वास्थ्य चौकी भवन निर्माण, १० वटा खानेपानी आयोजना निर्माण, ४ वटा विद्यालय भवन निर्माण, नगरका तीन स्थानमा तटबन्ध निर्माण, नगरका बजारक्षेत्रमा इन्टरलक इटा राख्ने काम, कृषि बजार व्यवस्थपन, बजार क्षेत्रका अनाधाकृत संरचना हटाइएको जनाएको छ ।
नगर भित्रका २ हजार २ सय ३५ जनाको आँखाको निशुल्क परिक्षण तथा २ सय २५ जनाको निःशुल्क आँखा अप्रेशन, मृगौला प्रत्यारोपण, डाइलासिस, क्यान्सर र मेरुदण्डको पक्षघातका विरामीलाई मासिक ५ हजारका दरले ६४ जनालाई नगरिपालकाले निरन्तर विरामीको खातामा औषधि उपचार उपलब्ध गराउदै आएको छ ।
त्यसैगरी न्यायिक समितिमा दर्ता भएको ५४ वटा मुद्धा मध्य २१ वटा मिलापत्र भएको ३३ वटाको छलफल हुन बाँकी रहेको जनाएको छ । यता गरीबि निवारण तर्फ लघु उद्यम कार्यक्रम मार्फत २ सय १३ जना उद्यमी उत्पादन, प्राविधिक शिप विकास तालिम अन्तर्गत सिलाईकटाई, सौन्दर्य कलासिप, ढाकाबुनाई, बङगुर पालन, ड्राईभिङ शिप विकास, मोटरसाईकल मर्मत गरि विभिन्न तालिम ४ सय ८ जना लाभान्वित भएका छन् । त्यसैगरी अपाङगता भएका १७ जनालाई ह्विल चेयर वितरण, अपाङगता भएका ७० जनालाई परिचयपत्र वितरण लैंगिक हिंसाबाट पीडित ४ जनालाई स्वास्थ्य उपचारका लागि ६५ हजार उपलब्ध गराएको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।