गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले “जलवायु अनुकुलित कृषक मैत्री प्रविधि धान उत्पादनमा वृद्धि” नाराका साथ आज २० औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाएको छ । शुक्रवार नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा त्रियुगा नगरपालिका–८, राजावासमा महोत्सवको आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख बसन्त बस्नेतले यस क्षेत्रका कृषकहरुलाई अनुदानमा २ वटा ट्याक्टर उपलब्ध गरिएको बताउदै उक्त ट्यक्टर प्रयोजनका लागि जग्गालाई चक्ला बन्दी गरि खेती गरे लागत कुम हुँने र उत्पादनको वृद्धि हुने बताउनु भयो ।
धान उत्पादनलाई वृद्धि गर्न कृषकलाई प्रबिधी मैत्री बनाउन नगरपालिकाले कृषि उपकरण अनुदानमा दिएको र कृषिमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हेफर मार्फत कृषिमा आत्मनिर्भर बन्ने गरि योजना बनाएर काम गर्दै आएको उपमेयर मेहेश्वरी राईले जानकारी दिइन ।
धान उत्पादन तथा उत्पादकत्व वृद्धिलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ २०६१ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाईँदै आइएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिकलगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्त्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न दिवस मनाइएको कृषि शाखाले जनाएको छ ।