उदयपुर –महिलामाथि हातपात र दुर्व्यवहार गरेको आरोप लागेका उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का वडाध्यक्ष प्रकाश राउत पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय वेल्टारले शनिवार राउतलाई पक्राउ गरेको हो। सुर्योदय सामुदायिक वन उपभोक्ता समुहको क्षेत्र भित्र पर्ने छिडी खोलामा अवैद्य रुपमा ढुङ्गागिट्टी उत्खनन रोक्न पुगेकी स्थानीय सुनिता श्रेष्ठलाई हातपात र दुर्व्यवहार गरेको आरोपमा राउतलाई नियन्त्रणमा लिईएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयलले वताए।
वडाध्यक्ष राउतले शुक्रवार खोलामा एस्काभेटर र टिपर नै प्रयोग गरेर अवैद्य रुपमा गिट्टी निकासी गरिरहेको सूचना पाएपछि त्यसलाई रोक्न श्रेष्ठ त्यहाँ पुगेकी थिईन। सोही क्रममा विवाद हुँदा राउतले हातपात गरेको आरोप लागेको थियो।
वर्षाको समयमा खोलाबाट नदिजन्य पदार्थ उत्खनन गर्न कानुनले रोकेको, त्यसमाथि सामुदायीक वन क्षेत्रभित्र पर्ने खोलाबाट गिट्टी निकाल्न मिल्दैन भन्दा आफुमाथि हातपात गरेको श्रेष्ठको आरोप
वडाध्यक्ष रातउले भने आफुले कसैलाई हातपात र दूव्र्यवहार नगरेको बताएका छन् । वडामा सडक निर्माणको काम चलिरहेको र गिट्टी अभाव हुन नदिन खोलामा पस्नु परेको भन्दै उनले सफाई पेश गरे। वर्षाका कारण हिलाम्मे भएका गाउँका बाटो पुर्न पनि गिट्टी झिक्नु परेको उनको भनाई छ।
राउतले गत ०७९ माघमा पनि स्थानीय राकेश कुमार हुजदारलाई ढुङ्गागिटीकै विषयमा कुटपिट गरी हात भाँचिदिएका थिए। वडा नं. ९ को पश्चिम ज्यामिरे स्थित भिम सामुदायिक वन क्षेत्रमा पर्ने ज्यामिरे द्वारखोला वनक्षेत्रबाट वडाध्यक्ष राउतले आफ्नो एस्काभेटर प्रयोग गरि गिट्टी बालुवा निकाल्ने क्रममा विवाद भएको थियो।
स्थानीय युवाले अवरोध गरेपछि विवाद हुँदा राउतले गालीगलौज र कुटपिट गरि दाहिने हात भाँचिदिएका थिए।