

गाईघाट । उच्च अदालत बिराटनगरबाट मान्यता पाएर आफ्नो दैनिक काम काज संचालन गरेको रेडक्रस उदयपुरको समितिले रेडक्रसको सम्पत्ति दुरुपयोग भएको भन्दै स्थानीय प्रशासनको ध्यानाकार्षण गराएको छ । रेडक्रस उदयपुका सभापति मदनराज कटुवालले बुधबार एक विज्ञप्ति जारी गर्दै अदालतको फैसला प्राप्त भएको महिना दिन वित्न लाग्दा समेत पूर्व सभापति बिनोद कुमार बस्नेतले नेतृत्वको समितिले अदालतको फैसलालाई समेत बेवास्ता गरि मनोमानी ढंगले रेडक्रसको लेटर प्याड र छाप दुरुपयोग गर्ने गरेको र संस्थाका समान हाल सम्म पनि प्रयोग गर्दै बरबुझारथ समेत नगरेको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो
।
रेडक्रसद्धारा जारी विज्ञप्तिमा सम्मानित उच्च अदालतको आदेश फैसलाको विपरित केहि दिन देखि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा उदयपुरको लेटरप्याड र छाप प्रयोग गरि अनाधिकृत र अवैधानिक रुपमा पत्राचारहरु भएको पाईएकोले विधिको शासन स्थापित गराउनका लागि स्थानीय प्रशासन र स्थानीय सरकारहरुलाई हामी अनुरोध गर्दछौ, भनिएको छ । ‘मानविय सहायताको लागि खोलिएको संस्थाको नाममा रहेका सवारी साधनहरु, सम्पत्ति बरबुझारथ नगरी अवैधानिक र अनाधिकृत रुपमा व्यक्तिगत प्रयोजनमा प्रयोग भईरहेकोले उक्त दुरुप्रयोग रोक्नका लागि स्थानीय प्रशासनलाई रेडक्रस उदयपुर आग्रह गर्दछ, बिज्ञप्तिमा भनिएको छ ।
संविधान दिवसको शुभकामना दिदै जारी गरिएको प्रेस विज्ञप्तिमा “रेडक्रसका पूर्व पदाधिकारीले सवारी साधन दुरुपयोग गरेकोले स्थानीय प्रशासन र स्थानीय सरकारले नियन्त्रणमा लिई कार्यालयमा बुझाउन आव्हान गर्दछु ।” २०७८ कार्तिक २३ गते केन्द्रीय कार्य समितिले नेपाल रेडक्रस उदयपुर जिल्ला शाखाका तत्कालिन अध्यक्ष बिनोद कुमार बस्नेत नेतृत्वको कार्यसमिति विघटन गरेको थियो । मदनराज कटुवालको नेतृत्वमा जिल्ला तदर्थ समिति गठन गरेपछि
भएको विवादमा उच्च अदालत विराटनगरले २०८० जेष्ठ २९ गते जिल्ला तदर्थ समिति वैधानिक नै भएको ठहर गर्दै विनोद बस्नेतको रिट खारेज गरिदिए पछि मदन कटुवालले आधिकारिक रुपमा नेपाल रेडक्रस सोसाइटी उदयपुरको सभापति भएर काम गर्ने बाटो खुलेको थियो ।