गाईघाट । त्रियुगा नगरपालिकाले जग्गा एकिकरण योजना संचालन गर्नको लागि सरोकार वालाहरुसंग छलफल गर्न भेला बोलाएको छ । नगरपालिकाले कार्तिक १८ गते शनिवारका दिन दिनको ११ बजे नगरपालिकाको सभाहलमा भेला हुन सरोकारवाला हरुलाई सूचना मार्फत बोलाएको हो ।
यस अघि नगरपालिकाले वडा नं ९ र १० को १८० बिगाहा जग्गामा एकिकरण आयोजना संचालन गर्नको लागि ३५ दिने सूचना निकालेको थियो । ३५ दिने सूचनामा जग्गाधनिहरुको दाविबिरोध भए नगरपालिकामा निवेदन दिन आव्हान गरिएको थियो ।
सोही सूचना वमोजीम कार्यलयमा जग्गाधनीहरुले निवेदन दिएको हुँदा छलफलका लागि सम्पुर्ण सरोकारवाला हरुलाई बोलाइएको त्रियुगा नगर प्रमुख वसन्त बस्नेतले बताए । छलफल कार्यक्रममा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, मालपोत, नापी, डिभिजन वन, कोष तथा लेखा नियन्त्रण लगायत विभिन्न कार्यलयका प्रमुख तथा प्रतिनिधिहरु समेतको कार्यक्रममा सहभागिता हुनेछ ।
नगरप्रमुख बस्नेतका अनुसार भेलामा पहिले सरोकारवालाहरुलाई आयोजनाको बिस्तृत जानकारी गराउने र परेका निवेदन माथी छलफल गरिने छ । नगरपालिकाले जग्गा एकीकरणका लागि पुर्वमा त्रियुगा अस्पताल हुदै त्रियुगा बसपार्क जाने सडक, पश्चिममा गैरुन मुसहरीटोल हुदै त्रियुगा नदि, उत्तरमा मदन भण्डारी राजमार्ग र दक्षिणमा त्रियुगा नदि सिमाना तोकेको छ ।