उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका भित्र सडकमा बसेर जिवन गुजारा गर्दै आएका १४ सडक मानवलाई उद्धार गरिएको छ । बुधबार मानव सेवा अश्रामको सहयोगमा त्रियुगा नगरपालिकाले उनीहरुको उद्धार गरेको हो।
नगरपालिकाले सडक मानव मुक्त बनाउने उदेश्य सहित मानव कल्याण स्वरुप उनीहरुलाई उद्धार गरिएको त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताउनु भयो । त्रियुगा नगरपालिकाको प्रशासनिक क्षेत्र गाईघाट बजारको विभिन्न चोक र गल्लीमा बसेर कष्टकर जिवन विताउदै आएका १ बालक, ४ जना महिला र ९ पुरुष गरि १४ जनालाई उद्धार गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो । उनीहरुलाई गाईघाटको मुख्य चोक, बिपिचोक, पिपल चोक, बुद्ध चोक, जलजले लगायतका स्थानबाट उद्धार गरिएको हो ।
चाडपर्वमा कोही नरहून सडकमा भन्ने भावाना सहित उद्धार गरिएका १४ जना लाई मानव सेवा आश्रमलाई जिम्मा लगाएको नगर उपप्रमुख महेश्वरी राइले बताउनु भयो । मानव सेवामा समर्पित मानव सेवा आश्रम संस्थाले देशव्यापी बेवारिसे मानिसहरुको हितका खातिर राष्ट्रिय उद्धार अभियान थालेको छ । सोही अभियान अन्तर्गत उदयपुरका सडक मानवहरुको ऊद्धार गरिएको संस्थाले जनाएको छ। यस अघि त्रियुगा नगरपालिकाको आर्थिक सहायतामा गाईघाट बजारमै सडक मानवको उद्धार गर्न ‘साझा सेवा घर’ संचालनमा ल्याइएको छ । साझा सेवा घरमा अहिले २ वालक आश्रीत छन।