उदयपुर । जिल्ला अस्पताल उदयपुर न्यूनतम् सेवा मापदण्डमा कोशी प्रदेशकै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको अनुगमनमा जिल्ला अस्पताल उदयपुर उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ६९.३७ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.ज्ञानेन्द्र झाले बताए ।
विभिन्न मापदण्ड र सूचकका आधारमा अस्पताललाई अङ्क दिइएको जनाइएको छ । प्रशासन व्यवस्थापन, क्लिनिकल सर्भिस, विभिन्न विशेषज्ञ सेवा र हस्पिटल सपोर्ट सिस्टममलाई आधार मानेर गरिएको अनुगमनमा प्रदेशकै प्रथम हुन सफल भएको अस्पतालका प्रमुख डाक्टर झाले बताए ।
न्यूनतम् सेवा मापदण्डमा उत्कृष्ट हुँदा आफूलाई निकै खुसी लागेको र अझै पनि अस्पतालको सेवालाई प्रभावकारी बनाउनेतर्फ लाग्ने अस्पताल प्रमुख झाले जनाएका छन ।
विगतमा लामो समय सम्म चिकित्सकको अभाव हुदाँ रेफर सेन्टर जस्तो बनेको जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य उपचार हुन थाले पछि जिल्ला बाहिरका निजि ठूला हस्पिटलहरुमा जानू पर्ने अवस्था टरेको छ । हाडजोर्नी, नशा, जटिल खालका गर्भवती महिलाको सुत्केरी (सिएस) देखि पित्तथैलीको पत्थरी, एपेन्डीसाईटिस, हाईड्रोसिल र हर्नियालगायत शल्यक्रिया (अप्रेसन) हुने गरेका कारण जिल्ला अस्पताल अहिले आकर्षणको केन्द्र बनेको छ ।
अस्पताल प्रशासनका अनुसार अहिले दैनिक न्यूनतम ५ सयदेखि १५ सय बिरामीले उपचार सेवा लिँदै आएका छन्।