उदयपुर : त्रियुगा नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका र नगरअन्तर्गत रहेका शाखाहरुले आर्थिक वर्ष २०८०/८१ पहिलो चौमासिकमा प्रवाह गरेका सार्वजनिक सेवा र प्रभावकारिता विषयमा सार्वजनिक सुनुवाइ गरिएको हो ।
त्रियुगा नगरपालिकाको आयोजना तथा सुशासनका हिमायती (जि.क्यु) को सहजिकरणमा नगरपालिकाको सभाहलमा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही, नागरिक, राजनीतिक दल, विषयगत शाखाहरुका प्रमुख एवं प्रतिनिधिहरुले गुनासा तथा टिप्पणी र सुझावहरु राखेका थिए ।
नागरिकहरुबाट प्राप्त भएका गुनासाहरुको सम्बोधन गर्दै नगरप्रमुख वसन्त बस्नेतले राज्यको नीति र पद्धती नै व्यवहारिक नहुँदा कतिपय काममा कठिनाइ भएको भएपनि नगरपालिका समृद्धिको बाटोतर्फ उन्मुख हुँदै गएको दाबी गरे ।
नगर प्रमुख बस्नेतले नगरपालिकाको प्रशासकीय भवन निर्माणको काम, शिक्षामा स्थानीय पाठ्यक्रम लागू गरि बिद्यालयको दरवन्दी मिलान गरि शिक्षामा गुणस्तर बढाउने काम, स्वास्थ्यमा जिल्ला अस्पताललाई विशेषज्ञ सेवा दिने सहितको अस्पतालमा परिणत गरिएको, पूर्वाधार तर्फ बिश्वबैंकको लगानीमा बन्ने सडक ठेक्का लगाउने अवस्थामा पुर्याएको र त्रियुगा रिङरोड निर्माणको थालनी भएको बताए ।