गाईघाट । नेपाली कांग्रेसले अन्य पार्टी सँग गठबन्धन नगरी आफ्नै वलबुतामा आम निर्वाचनमा भाग लिनु पर्नेमा जोड दिएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै अधिकांस वक्ताले कांग्रेस कसैको भरिया भएर हिड्न नहुने धारणा ब्यक्त गरेका हुन ।
नेपालको लोकतन्त्रका लागि नेपाली कांग्रेसको अलग पहिचान र इतिहास भएका कारण अन्य कम्युनिस्ट पार्टीहरु सँग मिलेर कम्युनिस्ट हरुलाई मलजल गर्दौ जोगाउन नहुने नेता कार्यकर्ताहरुको भनाई थियो ।
गठबन्धनका नाममा आफ्ना जित्ने स्थान समेत कमजोर रहेका कम्युनिस्ट पार्टीलाई जिम्मा लाएर संगठन सुदृढ नहुने भन्दै पूर्व क्षेत्रीय सभापति वसन्त बस्नेतले हसिया हतौडा र कलम अन्य चिन्हका विरुद्ध उठेका कांग्रेसका नेताहरुलाई बिना सर्त कारवाहीको फुकुवा हुन पर्ने बताए ।
बिचार समेत फरक भएका पार्टी संग गठबन्धन गरि आफ्ना कार्यकर्ताको भन्दा फरक बिचारका कार्यकर्ताको विश्वास गर्नाले पार्टी भित्र अझ मतभेद हुँदै अविश्वास र नेताहरुमा दुरी बढेको पूर्व क्षेत्रीय सभापति भोजराज खतिवडाले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर नारायण खड्काले पार्टी भित्रका इमान्दार कार्यकर्ताका कारण चुनाव जित्ने र चुनाव जिति सके पछि यो गुट र त्यो गुटको नाममा कार्यकर्ता छुट्याउदा पार्टी कम्जोर हुने उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका पार्टी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्कीले कांग्रेसका नेताहरुको गल्ती र कम्जोरीका कारण जनतामा देखिएको निरासाको फाइदा उठाउदै केहि राजनैतिक दलहरु सलवलाएको देखिन्छ त्यो केवल क्षणिक भएको बताए ।
पार्टी सचिव तथा कटारी नगरपालिका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठ, पार्टी सचिव मुरारी खड्का, महिला संघ उदयपुरका अध्यक्ष तथा प्रदेश सभा सदस्य लिला राई, वेलका नगर सभापती तथा नगर प्रमुख अशोक कार्की, प्रदेश सभा १ (क) का सभापती अर्जुन दाहाल, १ (ख) का सचिव फिरन खड्काले कार्यक्रममा आफ्नो भनाई राखेका थिए ।