उदयपुर । गाईघाट फत्तेपुर सडक खण्डमा पर्ने लुवाले खोलामा मोटरेवल पक्की पुल बन्ने पक्का भएको छ । आज अर्थमन्त्री प्रकाश शरण महतले उक्त खोलाको स्थलगत निरिक्षण गरे पश्चात पुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिदिने बताउनु भयो ।
बृस्तित परियोजना प्रतिबेदन बनेर मन्त्रालयमा बुझाई सकिएको उक्त पुलको आज नगर प्रमुख वसन्त बस्नेतको आग्रहमा अर्थ मन्त्रीले महतले निरीक्षण र अवलोकन गरेका हुन ।
नगरपालिकाको वडा नं १ र २ लाई सदरमुकाम सँग जोड्ने पुल नहुदा बर्खामा त्यस क्षेत्रका नागरिकले उपचार समेत गराउन नपाएको दुखेसो पोख्दै नगर प्रमुख बस्नेतले कुनै पनि हालतमा पुल बन्न पर्ने आग्रह गरे पछि मन्त्री महतले पुल निर्माणको लागि आवश्यक बजेटको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गरेका हुन ।
उदयपुर सिमेन्ट उद्योगको निरीक्षण गर्न आएका मन्त्री महतले सिमेन्ट उद्योग, उद्योगकको खानी, लुवाले खोला र जोगीदह बिमानस्थलको स्थलगत निरीक्षण गरेका थिए ।