उदयपुर । उदयपुरको सदरमुकाम गाइघाटमा नेवार समुदायको परम्परागत संस्कृति संरक्षणका लागि धिमे एवम् बाँसुरी बाजाको शनिबारबाट प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण तालिमको उद्घाटन त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले मौलीक कला, संस्कृति र भाषाको संरक्षणले मात्रै परम्परागत मान्यताहरुलाई जोगाउन सकिने बताए । उनले नगरक्षेत्र भित्र रहेका कला संस्कृति र सम्पदाहरुको संरक्षण र सम्बद्र्धनको लागि नगरपालिकाले आगामी बर्षको निती तथा कार्यक्रममा बिशेष सम्बोधन गर्नेे उल्लेख गरे ।
युवा पुस्ताले पुराना संस्कृतिलाई संरक्षणमा चासो नदेखाए परम्परागत मान्यता नै लोप हुनसक्ने खतरा बढेको वडा अध्यक्ष सुमन्त कोइरालाले बताए
धिमे र नेवारी संस्कृतिको बाँसुरी बाजा बजाउने शिपको क्षमता विकासको लागि सनिबार देखि सुरु भएको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । धिमे बाजा नेवार समुदायमा सबै शुभकार्यमा बजाइने बाजा हो । तर, यही बाजाको संरक्षण नभएर लोपोन्मुख अवस्थामा पुगेपछि झिगु नेवा पुच : उदयपुर गाईघाटले नगरपालिकाको आर्थिक सहयोगमा बाजाको संरक्षण गर्ने अभियान थालेको हो ।काठमाडौं वाट आएका प्रशिक्षक सुधन मुनिकारले उक्त तालिम दिनेछन ।