उदयपुर । दोस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । ५ बिधाका खेलहरु समाबेश गरि आयोजना गरिएको प्रतियोगितामा ३ सय १५ अंक प्राप्त गर्दै त्रियुगा नमुना मा.वि. प्रथम भएको हो ।
थरुहट रंगशालामा संचालित प्रतियोगितामा प्रथम भएको त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । यो संगै नमुना मा.वि. ले दोस्रो पटक रनिङ शिल्डमा आफ्नो कब्जा जमाएको हो । प्रथम संस्करणमा पनि ३ सय ४२ अंक सहित प्रथम भएको थियो ।
त्रियुगा नगरपालिकाको आर्थिक सहयोग, नगर शिक्षा शाखाको समन्वय र नगर युवा तथा खेलकुद बिकास समितिको आयोजनामा भएको प्रतियोगितामा तेक्वान्दो बाहेक सम्पुर्ण बिधामा त्रियुगा नमुना मा.विले प्रथम स्थान हासिल गरेको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे प्रतियोगितामा १ सय ८ अंक सहित रामजानकी मा.वि मोतिगडा दोस्रो र ८३ अंक सहित प्याराडाइज इङ्लिस बोर्डिङ स्कुल तेस्रो भएका छन ।
दोस्रो हुने रामजानकी मा.विले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र र तेस्रो हुने प्याराडाइज इङ्लिस बोर्डिङ स्कुलले नगद ७ हजार ५ सय सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा त्रियुगा नगरपालिका भरिका सामुदायीक र संस्थागत गरि ३१ वटा माध्यमिक विद्यालयहरु सहभागी भएका थिए । भलिबल (महिला पुरुष), कवड्डी (महिला पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरि ५ विधाका खेलहरुलाई प्रतियोगितामा समाबेश गरिएको थियो ।
प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख बस्नेतले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकासमा सहयोग पुर्याउने भएकोले प्रतियोगिताको आयोजना गरिएको बताए ।
नगरपालिकाको शैक्षिक गुणस्तर उकास्न खेलकूद प्रतियोगिता महत्वपूर्ण सावित हुने बताउदै प्रमुख बस्नेतले संघिय र प्रदेश सरकार संग समन्वय गर्दै हरेक वडामा खेलकुद मैदान निर्माणगर्ने योजनामा आफू र नगरपालिका रहेको उल्लेख गरे ।
यस्तै उप प्रमुख महेश्वरी राइले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताइन । राष्ट्रिय स्तरका प्रतियोगितामा भाग लिएर जितेर आउने खेलाडीलाई नगरपालिकाले पुरस्कृत गर्ने उनले घोषणा समेत गरिन । राष्ट्रिय स्तरका प्रतियोगितामा छनोट हुने प्रतियोगिताका लागि मेयर रनिङ शिल्ड प्रतियोगिता एउटा आधार रुपमा रहेको र यसले विद्यार्थीमा खेल भावानाको बिकास गराउने उल्लेख गरिन ।