उदयपुर । नेपाली कांग्रेस उदयपुरले पहिलेका तिता मिठा बिर्सेर एक भएर संगठनलाई सुधृण बनाएर लैजानु पर्ने निष्कर्ष निकालेको छ । ४८ औ मेलमिलाप दिवसको अवसरमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बक्ताहरुले यस्तो निष्कर्ष निकालेका हुन ।
कांग्रेस पार्टी कार्यलयमा आयोजित कार्यक्रममा पार्टीका उपसभापति, विभिन्न तहका नेता र भात्री तथा सुभेच्छुक संस्थाका नेताहरुको उपस्थिति थियो । उपस्थित सम्पुर्णलाई कांग्रेसको वर्तमान अवस्था र आउने चुनौती र अवसरको बिषयमा आफ्ना धारणा राख्न लगाइएको थियोे ।
उपस्थित अधिकांस बक्ताले कांग्रेस उदयपुर पहिले भन्दा बलियो अवस्थामा रहेको तर पार्टीका नेताहरुको एक आपसको अविश्वासले कमजोर हुँदै गएको धारणा राखेका थिए । “आज बजार चोक र पसल हुदि कांग्रेसले कांग्रेसको बिरोध गरेको भेटिन्छ तर अन्य पार्टीका कार्यकर्ताले कांग्रेसको बिरोध गर्ने ठाउँ भेटेका छैनन र गरेका छैनन, हामी आफै नांगिने काम कमजोर हुने काम गरिरहेका छौ, यो मेलमिलाप दिवसले यो आफू आफू बिचको कटुताको अन्त्य गर्न पर्छ ।” एक सहभागी नेताले भने ।
काँग्रेसका संस्थापक एवम् प्रथम जन निर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफूमाथि मृत्युदण्डकै सजायसमेत हुन सक्ने आठ वटा मुद्धा चलिरहेका बेला मेलमिलापको नीति लिएर स्वदेश फिर्ता भएको दिन २०३३ साल पुस १६ लाई आधार मानेर काँग्रेसले यो दिवस मनाउने गरेको हो ।