गाईघाट । वडा खेलकुद बिकास समितिकोको आयोजनामा प्रथम वडा कप खुला फुटबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । त्रियुगा नगरपालिका वडा ७ को मुख्य प्रायोजनमा भएको प्रतियोगितामा वडा भरिका सम्पुर्ण युवाहरुको सहभागिता रहने गरि प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगिताको विजेता टिम शहरे युथ क्लवले १५ हजार नगद सहित ट्रफी र प्रमाणपत्र र उपविजेता चिसापानी युवा क्लवले १० हजार सहिट ट्र्फी र प्रमाणपत्र पाएका छन । यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, रक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको छ । एइट ए साइड प्रतियोगिताका खेलहरु चिसापानी पार्कको मैदानमा भएका थिय ।
दुई दिन सम्म चलेको प्रतियोगितामा वडा भरिका युवाहरुलाई ८ टिममा विभाजन गरेर प्रतियोगितामा सहभागी गराइएको थियो । मेयर रनिङ शिल्ड प्रतियोगिता देखि नगरले गर्ने खेलकुदका हरेक प्रतियोगितामा वडाका युवाहरुलाई सहभागी गराउने उदेश्य सहित प्रतियोगिताको आयोजना गरिएको वडा अध्यक्ष अम्बर दनुवारले बताए ।
यस्तै प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वसन्त बस्नेतले एक वडा एक खेलकुदा मैदान बनाएर छाड्ने प्रतिबद्धता ब्यक्त गरे । सडक, पुल भवन बनाउनु मात्र बिकास नसम्झिएर खेलकुद, शिक्षा र स्वास्थ्य छेत्रमा गरेको लगानीलाई पनि बिकास सम्झिदिन उनले आग्रह गरे ।
युवाहरुलाई स्वदेशमा रोजगारीको सिर्जना गर्न नगरपालिकाले भरमग्दुर प्रयास गरिरहेको बताउदै उनले दुई वटा प्रमुख राजमार्गले काटेको यस क्षेत्रका युवाले लगानी गरे खेर नजाने सफल हुने धाराणा राखेका थिए ।