गाईघाट । पुसको कठ्याङ्ग्रिदो चिसोमा बृद्धबृद्धाहरु बिहान बेलुकाको समयमा घर बाहिर निस्कन नसकेको बेला त्रियुगा नगरपालिका वडा नं ११ ले न्यानो कपडा उनको वर्को (दोसल्ला) वितरण गरेको छ ।
वडाबाट सामाजिक सुरक्षा भत्ता लिदै आएका वृद्धबृद्धा, अपाङ्ग र एकल महिलालाई आज एक कार्यक्रम गर्दै वडाले न्यानो कपडा उनिको वर्को वितरण गरेको हो ।
वडा नं ११ का सामाजिक सुरक्षा भत्तालिने ४ सय २० जेष्ठ नागरिक, १ सय ६५ एकल महिला र ५१ अपाङ्ग गरि ६ सय ३६ जनालाई वर्को वितरण गरिएको वडा अध्यक्ष सुमन्त कोईरालाले जानकारी दिए ।
जेष्ठ नागरिकलाई न्यानो कपडा उहाँहरु सँग नभएर भन्दा पनि उहाँहरुको मनोभावना साटासाट गर्न र भेटघाट गर्नका लागि कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष सुमन्त कोईरालाले बताए । “उहाँहरूले सकुन्जेल हामीलाई सहयोग गर्नुभयो, उत्प्रेरणा भर्नुभयो अव हामीले उहाँहरूलाई सहयोग गर्नुपर्छ भन्ने लागेर यो कार्यक्रम गरिएको हो ।” वडा अध्यक्ष कोईरालाले भने ।
यस्तै वृद्धवृद्धालाई न्यानो कपाडाले सम्मान गर्दै त्रियुगा नगरपालिका प्रमुख वसन्त बस्नेतले जेष्ठ नागरिक अनुभवका सम्पत्ति, ज्ञान सिप देशको सम्पत्ति र गहना भएकाले सधै सम्मान गर्न पर्ने उल्लेख गरे । यस्तै उपप्रमुख महेश्वरी राईले वृद्धबृद्धा हाम्रो समाजको ऐना भएकोले उहाँहरुलाई सदैव सम्मान गर्न पर्ने धाराणा ब्यक्त गरिन ।