गाईघाट । माघको चिसोबाट बच्न त्रियुगा नगरपालिका वडा नं १२ ले वडामा रहेका एकल महिला, अपाङ र जेष्ठ नागरिक हरुलाई न्यानो कपडा फाइवरको सिरक वितरण गरेको छ । वडा बाट सामाजिक सुरक्षा भत्ता लिदै आएका ३ सय ७० जना जेष्ठ, अपांग र एकल नागरिकलाई न्यानो कपडा फाइवरको सिरक वितरण गरिएको हो ।
वडा कार्यलयले प्रदान गरेको सेवा लिन आएकी ज्येष्ठ नागरिक ७४ वर्षीया विष्णुमति चौधरीले जाडोको मौसममा न्यानो कपडाअन्तर्गत फाइवरको सिरक दिएकोमा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘जाडोमा न्यानो कपडा दिनुभयो, खुसी लागेको छ, धेरै–धेरै धन्यवाद भन्न चाहन्छु ।’
विगत दुई हप्ता देखि बढेको चिसोका कारण जेष्ठ नागरिक घरबाट बाहिर निस्कन नसकेको, जतिबेला पनि आगो तापेर बस्दा कतिपय अवस्थामा जिउमा आगोसमेत सल्किने खतरा बढेकाले सुरक्षितसाथ राख्न सिरक वितरण गरिएको कार्यवाहक वडा अध्यक्ष अनिता थापाले जानकारी दिइन ।
वडाभित्रका अधिकांश जेष्ठ नागरिक आर्थिक रुपले विपन्न ज्याला मजदुरी गरी ल्याएको पैसाले विहान वेलुकाको छाक टार्ने खालका रहेकाले जेष्ठनागरिक लक्षित कार्यक्रम स्वीकृत गरी सहयोग गरिएको कावा अध्यक्ष थापाले बताइन ।