उदयपुर –उदयपुरमा दादुरा – रुवेला विरुद्धको खोप अभियान सुरू गरिने भएको छ । अभियानअन्तर्गत उदयपुर जिल्लाका २९ हजार १ सय ३४ जना बालबालिकालाई खोप लगाइने पत्रकार सम्मेलन गरेर खोप सुपरभाइजर चिरिन्जीवी निरौलाले जानकारी दिनु भयो । निरौलाका अनुसार ४ सय ६४ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने छ । त्रियुगा नमुना माध्यमिक बिद्यालयबाट खोपको सुरुवात गरिने निरौलाले जानकारी दिनु भयो । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।