उदयपर । उदयपुरमा आज देखि दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नं. १० स्थित बाल मन्दिर माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि खोप अभियान सुरु गरिएको हो ।
जिल्लाका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका र रौतामाई, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा पहिलो चरण फागुन १३ देखि १७ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा अहिले नियमित खोप चल्ने भएकाले चैत्र २२ देखि २७ सम्म खोप अभियान संचालन गरिने खोप सुपरभाईजर निरीक्षक चिरन्जिवी निरौलाले जानकारी दिनु भयो ।
खोप जिल््लाका ४ सय ६४ खोपकेन्द्रमा २९१३४ जना ९ महिना देखी ५ बर्ष मुनिका बालबालिकालाई लगाईने लक्ष्य रहेको छ । लक्षित उमेरका बालबालिकाहरूलाई दादुरा–रुबेला खोप लगाएर रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोप अभियान सञ्चालन गर्न लागिएको जनाईएको उदयपुरका प्रमुख जिलल अधिकारी हरी प्रसाद घिमिरेले बताउनु भयो ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने छ । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।