उदयपुर । दादुरा -रुवेला विरुद्धको खोप अभियान अन्तर्गत आज पहिलो दिन त्रियुगाका १ हजार ८ सय ६९ वालवालिकालाई खोप लगाइएको छ । नगरपालिकाका १६ वटै वडामा संचालन गरिएको अभियान अन्तर्गत ८ सय ७१ वालिका र ९ सय ९८ वालक गरि १ हजार ८ सय ६९ वालवालिकालाई खोप लगाइएको हो।
वडा नम्वर ११ मा सवै भन्दा बढी ३ सय ६६ वालवालिकालाई दादुरा -रुवेला विरुद्धको खोप लगाइएको छ भने वडा नं १४ का सवै भन्दा कम १९ वालवालिकाले खोप लगाएको त्रियुगा नगर स्वास्थ्य शाखा अधिकृत उपेन्द्र कार्कीले जानकारी दिए।
त्रियुगा नगरपालिका संगै जिल्लाका चौदण्डीगढी नगरपालिका, बेलका नगरपालिका र रौतामाई, लिम्चुङ्गबुङ्ग गाउँपालिकामा पहिलो चरण फागुन १३ देखि १७ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
जिल्लाको कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकामा अहिले नियमित खोप चल्ने भएकाले चैत्र २२ देखि २७ सम्म खोप अभियान संचालन गरिने खोप सुपरभाईजर निरीक्षक चिरन्जिवी निरौलाले जानकारी दिनु भयो ।
खोप अभियानकै क्रममा नियमित खोप लगाउन छुटेका बालबालिकालाई पनि लगाइने छ । गत वर्ष १९ जिल्लामा दादुरा–रुवेला महामारीका रुपमा फैलिएको थियो । दादुरा–रुवेला भएका बेला ज्वरो तथा शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरे आँखा नदेख्ने समस्याका साथै कान पाक्ने, कान नसुन्ने, निमोनिया भएर श्वासप्रश्वासमा समस्या हुने गर्दछ ।