उदयपुर : हात्ती पीडितहरूको समस्या बुझेर त्यसलाई समाधान गर्ने उद्देश्य लिएर हिडेका मुख्यमन्त्री केदार कार्कीले हात्ती प्रभावित क्षेत्रको पदयात्रालाइ समापन गर्नु भएको छ । ७ दिन सम्म गरेको पद यात्रामा ४ जिल्लाका २४ स्थानीय तहका हात्ती प्रभावितहरुका गुनासा सुन्दै २ सय ४३ किलोमिटर लामो पदयात्रालाई आज उदयपुरको बेलास्रोतमा एक कार्यक्रम गर्दै समापन गर्नु भएको हो।
प्रदेश पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा सुरु भएको हात्ती मैत्री पदयात्राको समापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले आगामी बर्षको बजेटमा वन्यजन्तु र जनावर मैत्री बजेट ल्याउने बताउनु भयो । कोशी प्रदेशको सिंगो सरकार हात्ती पीडित जनताको ठाउँमा पुगेर समस्या हेरेको र दुःख बुझेको बताउदै ति समस्याको समाधान गर्न आउदो बजेटबाट समाधान र सम्बोधन गरिने उहाँले बताउनु भयो।
आगामी बजेटमा जंगल नजिक फलफुलका बोटविरुवा रोप्ने र प्रकृति र वन्यजन्तुलाई लाभाम्वित हुने कार्यक्रम ल्याएर जंगली जनवारलाई जंगलमा रम्ने खाने वातावरणको सिर्जना गर्ने उहाँले बताउनु भयो । ‘जीव-जनावर, जंगल, जनतामैत्री-जिम्मेवार जनप्रतिनिधि’ भन्ने नारासाथ झापाको बाहुनडाँगीबाट उदयपुरको बेलसोतको पदयात्रामा कोशी प्रदेश सरकारका मन्त्रीहरु प्रदिप सुनुवार, राम कुमार खत्री, गणेश प्रसाद उप्रेती, इन्दिरा थापा, त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेत लगायत सहभागी थिए।
हात्तीको परम्परागत जैविक मार्गको पुनःस्थापना तथा बासस्थानको संरक्षण एवम् मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्दै संरक्षणमा सहअस्तित्व र हात्तीमैत्री पर्यापर्यटन विकास गर्ने उद्देश्य सहित फागुन ९ गते मुख्य मन्त्री कार्की सहितको टोलीले हात्ती प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको हो ।